तुलसीपुर २ भदौ २०८३ मंगलवार। तुलसीपुरमा मंगलबार चार्ट पसलदेखि पानी उद्योगसम्म अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी तुलसीपुर बजारका पानी उद्योग, चार्ट पसल, डेरी पसल, किराना पसल लगायतमा छड्के अनुगमन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय
तुलसीपुरका प्रमुख पदम बरालसहितको टोलीले बजारका विभिन्न व्यवसायको अनुगमन गरेको हो ।अनुगमन टोलीले तुलसीपुर–९ बेलुवास्थित कुबेर जलमा अनुगमन गरेको छ । अनुगमन टोलीले उद्योगमा ल्याब नगरिएको, जारको पानी भर्न मेसिन प्रयोग नगरिएको, तुलसीपुर उपमहानगरपालिकामा सूचिकृत नभएको, सरसफाइमा कमी रहेको फेला परेको छ ।उद्योगको जार सफा नभएको हेलो सरकारमार्फत गुनासो
आएपछि उद्योगको अुनगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले बताउनुभयो । उहाँले उद्योगको अनुगमन गर्दा जारको क्यापमा नै अनुज्ञापत्र नम्बर र उत्पादन मिति भने स्पष्ट रहेको बताउनुभयो । तर हरेक दिनको प्रयोगशाला विश्लेषण नराख्ने गरेको भेटिएको उहाँको भनाई छ ।यसैबिच पानीको गुणस्तर मापनका लागि नेपालगञ्ज प्रयोगशालामा पठाएको खाद्य प्रमुख
बरालले बताउनुभयो । रिपोर्ट आउन करिब ३ साता लाग्ने र रिपोर्टमा कैफियत देखिएमा थप कार्बाही प्रक्रिया अगाडी बढाउने प्रमुख बरालले बताउनुभयो ।यस्तै तुलसीपुर–९ दोघरेस्थित उपहार आइसक्रिम उद्योगमा पनि छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा उद्योग नबिकरण बिनै संचालनमा रहेको, सरसफाइको कमी देखिएको, उत्पादन र म्याद सकिने मिति नै नराखी आइसक्रिम उत्पादन गर्ने गरिएको फेला
परेको छ । उद्योगलाई तीन दिनभित्र दर्ता प्रक्रियामा आएर मात्रै व्यवसाय संचालन गर्न निर्देशन गरिएको छ ।यस्तै तुलसीपुरको पिपलबोट उकालोमा रहेको न्यू रोल्पाली डाँगी स्टोरमा पनि अनुगमन गरिएको छ । त्यस क्रममा फुड कलर उद्योगलाई मात्रै बिक्रि गर्न अनुगमन टोलीले सुझाव दिइएको छ । फुटकरमा बिक्रि गर्दा रंगको मिसावट अत्याधिक हुने गरेको र स्वास्थ्यमा गम्भिर समस्या ल्याउने खाद्य प्रमुख बरालले
बताउनुभयो ।यस्तै तुलसीपुरको ख लाइनमा रहेको गणेश चार्ट भण्डारमा पनि अनुगमन गरिएको छ । अनुगमनको क्रममा चार्ट भण्डारको भित्रको किचनमा अत्याधिक फोहोर भेटिएपछि अनुगमन टोलीले सात दिन व्यवसाय नै बन्द गरेर सरसफाइ गर्न निर्देशन दिएको छ ।यस्तै ख लाइनकै किसान डेरी पनि अुनगमन गरिएको छ । डेरीमा सरसफाइको कमी देखिएको छ । अनुगमन टोलीले सरसफाई गर्न सुझाव दिएको छ ।
यस्तै तुलसीपुरको गुम्राहचोक नजिकै रहेको खड्का किराना तथा मदिरा पसलमा पनि अनुगमन गरिएको छ । तर किराना पसलमा कुनै कैफियत नभेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।अनुगमन टोलीमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, खाद्य निरीक्षक सुदर्शन गोसाई,
तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ बहादुर केसी, कर्मचारी तुलाराम केसी, खेमकान्त पाण्डे, नगर प्रहरी ऋषि पछाइ लगायतका रहनुभएको कुरा रेडियो हाम्रो पहुँचको अनलाईन पोर्टलमा जित सागर जीएम ले लेख्नु भएको छ |
