दाङ १२ असोज २०८१,अविरल वर्षातका कारण सडक भासिदा दाङ-रुकुम,दाङ-सल्यान,दाङ–रोल्पा र दाङ प्यूठान सडक अवरुद्द भएका छन । सडक अवरुद्द हुँदा दाङ सँग जोडिएका पहाडी जिल्ला हरू सँगको सम्बन्ध पूर्ण रुपमा बिच्छेद भएको छ| राप्ती राजमार्ग अन्तरगत दाङ– सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका ३ राम्री नजिकै ठूलो पहिरो झरेको छ ।

सडक खण्डको एक ठाउँमा झन्डै १२ मिटर बढी सडक पहिराले भत्किएको प्रहरीले जानकारी दिएको छ । सो सडक खण्डको अन्य स्थानहरुमा पनी साना ठूला पहिरो ठाउँ ठाउँमा झरेको कुरा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर बि क ले राप्ती पहिचान लाई बताए |राप्ती राजमार्ग अन्तरगत कपुरकोट देखी लाहुरेचौर खण्डको हाम्रो वडामा पर्ने भूगोलमा सडक बढी क्षतविक्षत हुन पुगेको छ बि क ले अगाडी भने |

यस्तै घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा आएको बाढीका कारण सडक अवरुद्द भएको छ । खोलामा बाढी आएका कारण वैकल्पिक मार्गबाट सवारी सञ्चालन गर्न आग्रह गरिएको छ । त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका ९ च्याउखोलामा पहिरोका कारण सडकमा खसेका ढुङ्गाहरू यात्रु मिलेर आफैले पन्छाएर यातायात सुचारु गरेका छन् ।

पहिरोले दाङको घोराही देखि रोल्पाको होलेरी जोड्ने शहिद मार्ग पनि अवरुद्ध भएको छ । यो सडक खण्डमा पनि ठाउँ ठाउँमा साना ठूला पहिरो झरेको खवर आएको प्रहरीले बताएको छ । दाङ– प्यूठान सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध छ । दाङको भालुबाङ देखि प्यूठान जाने सडक खण्डमा पहिरो झरेका कारण सडक पूर्णरुपमा अवरुद्द हुन पुगेको छ ।
