वीरगन्ज, ७ फागुन २०८० । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । दुई समुदायबिच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी

गरेपछि सुरक्षा व्यवस्था कडा गरिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । प्रशासनले कर्फ्यु आदेश पालना गराउनका
लागि नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।वीरगन्ज महानगरको पावरहाउस, मुर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान,
आदर्शनगर, भन्सार एरिया लगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताउनुभयो । साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।।
