३० रुपियाँ बिल तिर्न जाँदा ३०० रुपैयाँ गाडी भाडा तिर्नुपर्थ्यो,बिजुली कार्यालय घर आँगनमै खुल्दा खुशी छौं-स्थानीय

तुलसीपुर, ७ वैशाख २०८३ सोमवार। पश्चिम दाङको शान्तिनगरका बासिन्दाका लागि सानो समस्या पनि कहिलेकाहीँ ठूलो झन्झट बन्थ्यो । कतै पोल ढल्यो अथवा घरको बिजुली बिग्रियो भने समाधानका लागि तुलसीपुरसम्म धाउनैपर्ने बाध्यता थियो ।

त्यहाँ पुगेपछि पनि कहिले सम्पर्क नहुने, कहिले कर्मचारी ढिलो पुग्ने—यस्तै हैरानीले स्थानीयको दैनिक जीवन प्रभावित हुन्थ्यो । तर अब त्यो बाध्यता अन्त्य भएको छ । शान्तिनगर गाउँपालिका–५ रगैजामा विद्युत कार्यालयको नयाँ भवन उद्घाटन भएसँगै

स्थानीयले घरआँगनबाटै सेवा पाउने भएका छन् । स्थानीय विवेक कँवर भन्नुहुन्छ, “पहिले सानो समस्या समाधान गर्न पनि तुलसीपुरबाट प्राविधिक बोलाउनुपर्थ्यो, अहिले त यहीँबाट सेवा पाइने भयो, निकै सहज भयो ।” विवेक जस्तै सयौं स्थानीयको

अनुहारमा अहिले सन्तोषको मुस्कान देखिन्छ । वर्षौँदेखि भोग्दै आएको सास्ती अब विस्तारै हट्दै गएको अनुभूति उनीहरूमा छ ।केही वर्षअघि यही रगैजाबाटै भाडाको घरमा सेवा सञ्चालन हुँदै आएको थियो । तर पछि कार्यालय बबई गाउँपालिकाको

हापुरेमा सारिएपछि झनै समस्या थपिएको थियो । अहिले आफ्नै भवन बनेपछि सेवा स्थायित्वको अपेक्षा बढेको छ ।, अर्का स्थानीय गोविन्द बस्नेतले भन्नुभयो- अब दंगीशरण, शान्तिनगर र बबई क्षेत्रलाई यहीँबाट सेवा दिन सके झनै प्रभावकारी हुने

विश्वास गरिएको छ । विद्युत महसुल बुझाउन पनि पहिले तुलसीपुर जानैपर्ने बाध्यता थियो । सबैले मोबाइल बैंकिङ प्रयोग गर्न नसक्ने भएकाले आउँदा–जाँदा भाडामै बढी खर्च हुने गुनासो थियो । स्थानीय भुपाल डाँगी भन्नुहुन्छ, “अब यहीँबाट महसुल तिर्न

मिल्ने व्यवस्था भए अझ राम्रो हुन्थ्यो ।” यस भवन निर्माणमा स्थानीयको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । स्थानीय गिरिराज बस्नेतले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण सम्भव भएको हो । प्रेमधन निर्माण सेवाले २५ लाख ९० हजार ६ सय

१६ रुपैयाँको लागतमा आर्थिक वर्ष २०८१र०८२ मा सुरु गरेको निर्माण कार्य २०८३ कात्तिकमा सम्पन्न भएको हो । जग्गादाता बस्नेतले नागरिकलाई सहज सेवा मिलोस् भन्ने उद्देश्यले जग्गा दिएको बताउँदै अब सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त

गर्नुभयो ।विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश कुमार महताका अनुसार हाल उपलब्ध जनशक्ति र स्रोतसाधनबाट सेवा सुरु गरिएको छ भने आगामी वर्षदेखि विद्युत महसुलसम्बन्धी सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी

भइरहेको छ । त्यस्तै, लुम्बिनी प्रदेश डिभिजन कार्यालय प्रमुख दिपक गौतमले ग्रामीण तहसम्म सेवा विस्तार भएपछि उपभोक्ताको गुनासो छिटो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।यद्यपि, भवन निर्माणसँगै सबै समस्या समाधान भइहाल्छन् भन्ने

होइन । अब सेवा कत्तिको छिटो, सहज र प्रभावकारी रुपमा सञ्चालन हुन्छ भन्ने कुरामै यसको सफलता निर्भर रहनेछ । महसुल बुझाउने, प्राविधिक समस्या समाधान गर्नेलगाएतका सेवा यहीँबाट नियमित र भरपर्दो रुपमा सञ्चालन हुन सके मात्रै स्थानीयले

वास्तविक राहत महसुस गर्नेछन् । तर अहिलेका लागि भने शान्तिनगरका बासिन्दाका लागि यो भवन केवल संरचना मात्र होइन—वर्षौँको सास्तीपछि आएको सहजता, समय बचत र आशाको उज्यालो बनेर उभिएको छ ।।

प्रतिक्रिया