कैलाली ५ बैशाख २०८३ शनिवार। कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ । उनीहरूका आमा र भाइको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भीम
ताम्राकार र ५ वर्षीय दीपक ताम्राकारको हिजो बेलुका ज्यान गएको हो । उनीहरूका भाइ ३ वर्षीय दिपेश र आमा २८ वर्षीय राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । आमा र तीन जना छोरा गम्भीर बिरामी
छन् भन्ने थाहा पाएपछि प्रहरीले हिजो बेलुका अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउँदा अचेत अवस्थामा रहेका दाजुभाइको ज्यान गएको हो ।प्रहरीको अनुसन्धानबाट राधिकाले छिमेकमा रहेको पोल्ट्री फार्मबाट बिहीवार बेलुका मरेको
कुखुरा लगेको खुलेको छ । पोल्ट्री फार्म सञ्चालकले पैसा नलिई मरेको कुखुरा दिएको खुलेको र उनलाई सोधपुछ गरेर आवश्यक परेमा उपस्थित हुने गरी छाडेको प्रहरीले जनाएको छ । राधिकाले यसअघि पनि फार्मबाट मरेको कुखुरा लाने गरेको
खुलेको छ । तर पखाला र ज्यान जानुको कारण भने पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो ।।
