झण्डा जलाउने कार्यको घोर भत्सर्ना गर्दछौं-तरुण अध्यक्ष घर्ती

दाङ,८ फागुन २०८२ शुक्रवार। निर्वाचनको प्रचारप्रसारका क्रममा देखिएको अराजक गतिविधिप्रति नेपाल तरुण दल तुलसीपुर कार्यसमितिले आपत्ति जनाएको छ। नेपाल तरुण दल तुलसीपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचार–प्रसारका क्रममा देखिएका झण्डा जलाउने, पोष्टर च्यात्ने, सवारीसाधन अवरोध गर्ने तथा हुलहुज्जत जस्ता गतिविधी प्रति गम्भीर आपत्ति जनाएको हो ।

अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकीको संयुक्त हस्ताक्षर सहित जारी विज्ञप्तिमा -“फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताभित्र रही प्रचार–प्रसार गर्न पाउने वैधानिक अधिकार रहेको उल्लेख गरिएको छ। तर प्रचारका क्रममा केही राजनीतिक दल तथा तिनका कार्यकर्ताबाट निर्वाचन आचारसंहिताले तोकेको

समयसीमा बाहिर गएर फरक दलका झण्डा जलाउने, पोष्टर च्यात्ने, उम्मेदवारका गाडीमा अवरोध सिर्जना गर्ने, अश्लील नाराबाजी गर्ने तथा हुलहुज्जत गर्ने जस्ता गतिविधि भएको भन्दै आपत्ति जनाइएको छ”-उल्लेख छ। विज्ञप्तिमा यस्ता कार्यले लोकतान्त्रिक मूल्य–मान्यता र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उल्लेख गर्दै स्वच्छ,मर्यादित र भयरहित वातावरणमा

निर्वाचन सम्पन्न गर्नु सबै राजनीतिक दलको दायित्व भएको जनाइएको छ। तरुण दलले सबै प्रतिस्पर्धी दललाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्न निर्वाचन आयोग कार्यालय र प्रशासनसँग सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ। साथै, अराजक गतिविधिमाथि कारबाही नभए स्वच्छ निर्वाचन प्रणालीमै गम्भीर असर पर्न सक्ने चेतावनी पनि दिएको छ |

प्रतिक्रिया