दाङको तुलसीपुर मा मंगलबार बिहान ६ बजे सिलिण्डर बम विस्फोट भएको छ। तुलसीपुर उपमहानगरपालिका–८ स्थित टिकरी जाने बाटोमा, अटो भिलेज नजिकै सडकमा विस्फोट भएको इलाका प्रहरी कार्यालय तुलसीपुर ले जनाएको छ।
प्रहरीका अनुसार विस्फोटबाट कुनै मानवीय वा भौतिक क्षति भएको छैन। घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाएको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा विस्फोट धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ताबाट गराइएको हुन सक्ने आशंका गरिएको छ। उक्त पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो। तर विस्फोटको जिम्मा भने हालसम्म कुनै दल वा समूहले लिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त स्थान अति संवेदनशील मतदानस्थल नजिक पर्छ। यसअघि पनि २०७० सालको संविधानसभा निर्वाचनताका मावि प्रतापकोटको जंगल नजिक बम विस्फोट भएको थियो। त्यस्तै २०७४ सालको स्थानीय तह निर्वाचनका बेला सोही क्षेत्रभित्र सकेट बम विस्फोट गराइएको थियो, जसलाई प्रहरीले समयमै निष्क्रिय पारेको हुँदा कुनै मानवीय क्षति भएको थिएन।
हरेक चुनावको समयमा यस्ता घटनाहरू दोहोरिँदै आएकाले क्षेत्रको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बन्दै गएको स्थानीयवासी बताउँछन्।
