
दाङ ५ भदौ २०८२ बिहिवार | करिब ३ वर्षअघि दाङको तुलसीपुर–१९ स्थित विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले देशमै पहिलो पटक बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउने कार्यक्रम सुरु गरेको थियो । शुरुवातमा करिब ७५ जना बालबालिकालाई खुवाएर थालिएको थियो । अहिले दाङ मात्र होइन, अन्य विभिन्न जिल्लाका बालबालिकाहरु समेत अस्पतालमा स्वर्ण बिन्दु प्राशन खान
आउने गरेका छन् ।स्वर्ण बिन्दु प्राशन खाएका बालबालिकामा राम्रो प्रभाव देखिएपछि अभिभावकहरू पनि यो अभियानमा जोडिन थालेका छन्।प्रत्येक महिनाको पुष्य नक्षत्रको अवसरमा अस्पलातले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि कतिपय अभिभावक बारम्बार आफ्ना बच्चालाई ल्याउने गरेका छन् भने कोही

पहिलो पटक खुवाउन विहानै अस्पताल आइपुग्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ अश्वाराकी देवा डाँगीले गत चैत्र महिनादेखि आफ्नो बच्चालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएकी छन् । यो खुवाएपछि बच्चा कम बिरामी हुने भएपछि खुवाउँदै आइरहेको उनको भनाइ छ । आफू अस्पतालमा बिहान ७ बजे आएको भन्दै उनले शुरुमा विभिन्न संचार माध्यममा यसको बारेमा जानकारी पाएपछि खुवाउन शुरु गरेको समेत बताइन् ।


यस्तै तुलसीपुर ९ की धना भुसाल पनि आफ्नी पनातिनीलाई लिएर बिहानै अस्पताल आएकी थिइन् । यो अस्पतालमा खुवाउन लागेको जानकारी पाएपछि पहिलो पटक अस्पताल आएको उनको भनाइ छ । उनका अनुसार यो खुवाएपछि बच्चाहरु बिरामी नहुने र फाइदा गर्न थाहा पाएपछि आइएको हो । यस्तै उनले आफू पहिलो पटक अस्पताल आएको र यहाँको भिडदेख्दा
दंग परेको समेत बताइन् । उनले भनिन्,‘ बिहान नै देखि धेरै भिडभाड रहेको थियो । यसले राम्रो गरेका कारण होला । त्यो भएर सबै यसरी अस्पताल खुवाउन आउने गरेको ?’ यस्तै तुलसीपुर उपमहानगरपालिका ९ बेलुका कमल भण्डारी पनि विहान ६ बजेर आएर अस्पतालमा लाइन लाग्दा झण्डै २ घण्टापछि पालो आएको बताए ।उनले पनि आफू पहिलो पटक छोरीलाई लिएर

आएको भन्दै यसले बच्चाहरुलाई फाइदा गर्न थाहा पाएपछि आएको बताए । उनले अस्पतालमा यो खुवाउन निकै भिडभाड हुने भएकाले अब यसलाई वडागत रुपमा लैजानु पर्ने र सबै बालबालिकाहरु यसको पहुँचमा हुने समेत बताए । जन्मेको ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर स्वर्ण बिन्दु प्राशन खुवाइँदै आइएको छ । गत महिना करिब ५ हजार
बालबालिकालाई खुवाइएकोमा यस पटक यो संख्या बढेर ८ हजारभन्दा बढी पुगेको अस्पतालका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तले बताए ।पछिल्लो समय यो अभियानको प्रचार र यसको प्रभाव बढ्द्र गएपछि दाङ जिल्लाका मात्र नभइ छिमेकी जिल्लाका अभिभावकहरु आफ्ना बच्चाहरु लिएर आउने गरेको उनको भनाइ छ । यसमा स्वर्ण भष्म, ब्राम्ही घृत, मह लगाएत

जडीबुडी प्रयोग गरेर यो स्वर्ण बिन्दु प्राशन बनाउने गरेको उनको भनाइ छ । यो पुष्य नक्षेत्र परेको दिन खुवाउने गरेको भन्दै उनले महिनाको एक पटक वा कहिँले काहि दुई पटक खुवाउने गरेको समेत बताए । उनका अनुसार यो बर्षदेखि प्रदेश सरकारले यो अभियानलाई १२ वटै जिल्लामा विस्तार गरेको छ, भने संघीय सरकारले पनि २३ जिल्लामा कार्यान्वयनमा
ल्याइसकेको छ ।यसलाई बालकालिकाहरुलाई अहिलेसम्म कुनै असर नगरेको भन्दै ५ बर्ष नपुग्दासम्म खुवाउँदा केहि असर नहुने समेत उनको भनाइ छ ।यो अभियानमा बालबालिकालाई लिएर अभिभावकहरूको उत्साहजनक सहभागिता देखिएको छ । अस्पतालका अनुसार औषधि तयार गर्दा प्रत्येक बच्चाका लागि करिब ५० रुपैयाँ खर्च हुने गरे पनि हालसम्म भने यो कार्यक्रम

निःशुल्क रूपमा सञ्चालन भइरहेको छ । यस बालबालिकालाई धेरै फाइदा पु¥याउने भएकाले यसलाई देशभर नै लागू गर्नुपर्ने पूर्व सांसद सुजिता साक्यले बताइन् । उनले भनिन्,‘ यो अस्पतालको दृश्य देख्दा यसप्रति अभिभावकहरुको आकर्षण बढ्दो छ । यसले बालबालिकाहरुलाई फाइदा गरेको छ, भन्ने कुरा प्रष्ट हुन्छ । त्यसैले अब देशभरका बालबालिकाहरु यो खुवाउनको लागि देशभर नै यो कार्यक्रम लागू गर्नु पर्छ ।’