दाङ ३० असोज २०८१ : घरायसी जग्गा विवादका कारण दाजुले चक्कु प्रहार गरी भाइको हत्या गरेको खुलासा भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २८ वर्षीय छोरा

अनिल तामाङलाई उनका दाजु ३२ वर्षीय पूर्ण तामाङले चक्कु प्रहार गरी हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुल्न आयो इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डीएसपी अनिल ठकुरीले बताए । बुधबार पत्रकार सम्मेलनको आयोजना
गरेर घटनाको कसरी र किन भएको हो भन्ने बारे प्रहरीले सार्वजनिक गरेको हो ।अनिल असोज २३ गते बुबा आमा बस्दै आएको ठाउँ दाङको बबई गाउँपालिका ४ हापुरे आएका थिए । घरायसी जग्गा विवादका कारण दाजु पूर्णले अनिलाई मङ्गलबार बिहान

करिब सवा १० बजेतिर चक्कु प्रहार गरेका थिए ।सुरुमा अनिलले आफै पेटमा चक्कु प्रहार गरेको कुरा प्रहरीलाई जानकारी आए पनी शंका लागेर अनिलका दाजु पूर्ण तामाङ र बाबु सोमार तामाङ लाई नियन्त्रणमा लिएर केरकार गर्दा घटना पूर्ण ले नै
घटाएको कुरा पत्ता लागेको हो ठकुरी ले पत्रकार सम्मेलनमा बताए। घाइते अवस्थामा रहेको अनिललाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको थियो । उनको उपचारको क्रममा बिहान करिब ११ बजेतिर मृत्यु भएको डीएसपी
ठकुरीले बताए । उनका अनुसार सो घटना शङ्कास्पद लागेपछि ई प्र का तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा विशेष प्रहरी टोली गई घटना भएको ठाउँ देखि केही पर लुकिछिपी बसेको पूर्णलाई नियन्त्रणमा लिईएको थियो ।

प्रारम्भिक सोधपुछ र अनुसन्धान गर्दै जाँदा पूर्णले नै घरायसी जग्गा विवादका कारण भाई लाई चक्कु प्रहार गरी हत्या गरेको खुल्न आएको उनको भनाइ छ । यस्तै प्रहरीले बुवा सोमार तामाङ लाई पनि नियन्त्रणमा लिएको छ । जग्गाको विषयलाई लिएर
बुवा सँग पटक पटक झगडा गर्ने गरेको र सोही विषयमा आफूसँग पनि विवाद गरेपछि चक्कु प्रहार गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन् ।‘मदिरा सेवन गरेर भाइले आफ्नै पेटमा चक्कु हानेर घाइते भएको छ, भन्ने खबर प्रहरीलाई गयो ।
तत्काल पुगेको प्रहरीले उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठायो । यहाँ आएपछि म अस्पतालमा पुगे । घटना हेर्ने बित्तिकै शङ्का लाग्यो । बाबु छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको वास्तविकता खुल्यो,‘ उनले भने ।
यस्तै घटना स्थलमा प्रयोग भएको चक्कु तथा भौतिक सबुत प्रमाण समेत बरामद गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । सोमारले हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरेर बस्दै आएका थिए ।
