सल्यान २७ जेठ २०८१,,कर्णाली प्रदेशको पूर्वी जिल्ला सल्यानमा अवैध हतियार (पेस्तोल) सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर स्थित ४५ वर्षका दिपकबहादुर चलाउने रहेको कुरा सल्यान प्रहरीले जानकारी दिएको छ।
चलाउनेले अवैध रुपमा हतियार लुकाइराखेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दा घरदेखि केही पर पोखरा सामुदायिक वन सल्लेरीमा खाल्डो खनी प्लाष्टिकमा बेरेर
लुकाइ छिपाई राखेको अवश्थामा एक थान खिया लागेको पेस्तोल बरामद गरेको र उनलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । उनले खिया
लागेको पेस्तोलको कम्पनीको नाम र मोडल नम्बर नखुलेको जानकारी गराए । उनका अनुसार पेस्तोल द्वन्द्वकालमै लुकाइराखेको जस्तो छ ।पक्राउ परेका चलाउने लाई जिल्ला अदालत सल्यानबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको कुरा धमलाले राप्ती पहिचान लाई बताए।
