
दाङ ११ माघ २०८० : शान्तिनगर गाउँपालिका ३ बस्तीखोलामा सिस्नोको पाउण्ड उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गत वर्षदेखि आमा समुहले बस्तीखोला सिस्नो पाउडर उद्योग सञ्चालनमा ल्याएको भएयता पनि उद्योगबाट उत्पादित बस्तुले बजार नपाएको समुहकी अध्यक्ष नन्दिका स्वर्णकारले बताइन् ।उनका अनुसार गाउँघरमा रहेका दिदीबहिनीले सिस्नो टिपेर
उद्योगमा ल्याउन र त्यसलाई पाउण्ड बनाउने गरेको भएयता पनि बजार पाउन सकेन । यस्तै उनले उद्योगका लागि धेरै सामाग्रीहरू अभाव रहेको भन्दै सहयोग गरिदिन गाउँपालिकालाई आग्रह गरेकी छन् । उनले भनिन्,‘ गाउँघरमा खेरा गइरहेको सिस्नोलाई हामीले पाउण्ड बनाएर आर्थिक आयआर्जन गर्न खोजको छौँ । तर, हामीलाई धेरै समस्या रहेको छ । एक त विकट ठाउँ, त्यसमा पनि पर्याप्त मात्रामा सामाग्रीहरू छैनन्, जसोतसो उत्पादन गरेपनि बिक्री हुँदैन, ।’

उनका अनुसार अहिले ८ जना दिदीबहिनीहरू आवद्ध रहेका छन् । अहिले उद्योगले उत्पादन गरेको करिब २५ किलो सिस्नोको पाउडर रहेको र त्यस बजार नपाएको उनको गुनासो छ । उनले भनिन्,‘ अहिले दिदी बहिनीहरूले काम गर्न जाँगर मान्नु हुन्न । उत्पादन गरेको बस्तुले बजार पाउँदैन । एक केजी पाउडरको होलसेलमा ५ सय र फुटकर मूल्य ७ सय रहेको छ । तर, ३ / ४ सयमा दिँदा पनि बिक्री हुँदैन ।’

उनका अनुसार गाउँमा सिस्नो प्रशस्त पाइन्छ, तर, उत्पादन भएको बस्तुले बजार नपाउँदा समस्या भएको छ । यस्तै उनले बजार मूल्य पाएको खण्डमा मासिक एक सय केजी भन्दा बढि पाउडर उत्पादन गर्न सक्ने पनि बताइन् । अहिले आफूहरूलाई विभिन्न मेसिनरी सामाग्रीहरू समस्या रहेको उनको भनाइ छ । शुरुमा आफूहरूलाई डिकोस र ग्रीन फाउन्डेसन नेपाल संस्थाले सिस्नोको पाउडर बनाउने तालिम लगायत सामाग्रीहरू सहयोग गरेको थप सहयोगको लागि गाउँपालिकामा पहल गरेको उनले बताइन् ।