५० जना गरिब दिन दुखीका बालबालिका हरुलाई न्यानो कपडा सहयोग गरेर मनाए बस्नेतले जन्मदिन


दाङ शान्तिनगर ५ माघ २०८० :  शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई न्यानो कपडा र खेलकुदका सामाग्रीहरू दिएर मनाएका छन् । शुक्रबार उनले राप्ती माध्यामिक विद्यालय शान्तिनगर १ पेदीखोलामा खेलकुद सामाग्री तथा सोही वडाको बाघखोरमा रहेको सरस्वती आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा र खेलकुद सामाग्री हस्तान्तरण गर्दै विद्यालयमा जन्मदिन मनाएका थिए ।

उनका अनुसार गाउँपालिका सबै भन्दा विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरूलाई फजुल खर्च कटाएर सहयोग गरिएको हो । उनले भने,‘ हाम्रो भविष्य निर्माण गर्न ठाउँ नै विद्यालय हो । गाउँपालिकाको सबै भन्दा विकट ठाउँमा यो विद्यालय रहेको हुँदा मैले आफ्नोतर्फबाट सानो सहयोग गरेको हुँ ! हामी जनप्रतिनिधिहरूले आफ्नो स्वार्थको लागि मात्र नभइ आफ्ना नागरिकहरूलाई कसरी खुशी बनाउने भन्ने कुरा मुख्य हो । त्यसै अनुसार मै विद्यालयमा आएर साना साना बालबालिकासँग जन्मदिन मनाए ।’

उनका अनुसार आफूले पाउने डेढ महिनाको सेवा सुविधाबाट विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा दिइएको हो । यस कार्यले आफूलाई धेरै उर्जा मिलेको भन्दै आगामी दिनहरूमा पनि यस्तै गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइसकेपछि विशेषगरी स्वास्थ्य, शिक्षामा केन्द्रित भएर काम गर्दै आइरहेको समेत बताए । उनले अहिले नागरिकहरूलाई सबै भन्दा पहिला स्वास्थ्य, शिक्षा आवश्यक परेको भन्दै केही समय अगाडि गाउँपालिका स्तरीय स्वास्थ्य शिविरको आयोजना गरेर हजार भन्दा बढि नागरिकताले सेवा लिएको र ५० भन्दा बढि नागरिकलाई काठमाडौँ लगेर निःशुल्क उपचार गरेको समेत बताए ।

यस्तै उनले तुलसीपुर बजार नजिकै रहेको गाउँपालिकाका पहाडी क्षेत्रमा अझै विद्युतको सेवा नभएको हुँदा आफू आइसकेपछि विद्युतको जिम्मा लिएर अलपत्र पारेको जिम्मा लिएको कम्पनीलाई कालो सूचिमा राख्ने चेतावनी दिएपछि अझै विद्युतको काम भइरहेको समेत बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भण्डारीले गाउँपालिका अध्यक्षले आफ्नो जन्मदिन विद्यालयमा आएर मनाउँदा धेरै खुशी लागेको बताए । उनले पछिल्लो समय जन्मदिन मनाउने क्रम बढिरहेको भन्दै धेरैले फजुलमा खर्च गर्ने हुँदा गाउँपालिका अध्यक्षले विद्यार्थीलाई न्यानो कपडा दिएर मनाउँदा उदाहरणीय कार्य भएको बताए । यस्तै उनले विद्यालयमा भवन, खेलमैदान, पर्खाल लगायत जस्ता समस्याहरू रहेको भन्दै यसतर्फ पनि सहयोग गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा शान्तिनगर ५ का वडाध्यक्ष तथा शिक्षा समिति संयोजक ओपेन्द्र रावतले गाउँपालिकाका अध्यक्षले आफ्नो जन्मदिन विद्यालयमा आएर विद्यार्थीसँग मनाएको हुँदा धेरै राम्रो कार्य भएको बताए । यो जाडो समयमा गाउँपालिका अध्यक्षले निम्न आर्थिक भएका विद्यार्थी हरूलाई न्यानो कपडा दिएर उनीहरूलाई धेरै राहत मिलेको समेत बताए । यस्तै विद्यालयमा अवस्था हेर्दा निकै दुख लाग्दो रहेको भन्दै उनले गाउँपालिकाभरि रहेको सबै सामुदायिक विद्यालयको व्यवस्थापन बराबर हुन पर्ने बताए । उनले यस विद्यालयको लागि आफूहरूको ध्यान केन्द्रित हुने भन्दै विद्यार्थीहरूलाई पढ्न लेख्न सहज बजाउने समेत प्रतिवद्धता व्यक्त गरे ।

न्यानो कपडा पाउँदा अभिभावक खुशी

अभिभावक सरस्वती वलीले गाउँपालिका अध्यक्षले आफ्नो जन्मदिनको अवसरमा आफ्ना छोराछोरीहरूलाई न्यानो कपडा दिएकोमा खुशी व्यक्त गरिन् । जाडो समयमा निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरूले न्यानो कपडा पाउँदा धेरै राहत मिलेको समेत बताइन् । पहिलो पटक जनप्रतिनिधिहरू यसरी विद्यालयमा आएर न्यानो कपडा दिएको समेत उनले बताइन् ।

यस्तै अर्की अभिभावक विपना वलीले पनि आफ्नो छोराछोरीहरूले न्यानो कपडा पाउँदा धेरै खुशी लागेको बताइन् । सबै कुराले विकट रहेका यहाँका नागरिकहरू धेरै समस्या भोग्दै आइरहेको भन्दै उनले विद्यालयमा भौतिक संरचना राम्रो नहुँदा विद्यार्थीहरूले सास्ती भोग्दै आइरहेको र त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।

प्रतिक्रिया