काठमाडौ, २५ पौष । प्रहरीले काठमाडौँबाट हिजो पक्राउ परेका रामबहादुर बम्जनलाई आज सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनको साथबाट प्रहरीले ३ करोड ३४ लाख भन्दा धेरै रुपैयाँ बरामद गरेको पनि जनाएको छ । बाल यौन दुराचार, हत्या र ठगी घटनाको आरोप लागेका
बमजनको साथबाट नेपाली रुपैयाँ तीन करोड तीन लाख ७५ हजार त नेपाली रुपैयाँ र १७ देशका मुद्रा मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जानकारी दिएको हो । उनले ५ करोड रुपैयाँको ल्यान्ड क्रुजर गाडी चढ्ने तरखर गरिरहेको र त्यसका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स दिइसकेको पाइएको पनि सीआईबीले जनाएको छ ।
अहिले उनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फच्र्युन गाडी चढ्ने र १४ वटा मोबाइल फोन बोक्ने गरेको पनि सीआईबीले जनाएको छ । गाडी पनि प्रहरीले बरामद गरेको छ । यस्तै, उनको साथबाट ४ वटा स्कुटर, २ वटा ल्यापटप र पाँच वटा आईप्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ । २०७१ साउनमा बाराको हलखोरियामा आफू बमजनबाट बलात्कृत
भएको भन्दै एक अनुयायीले उजुरी दिए पनि कारबाही भएको थिएन । त्यसको साढे पाँच वर्षपछि २०७६ माघमा जिल्ला अदालत सर्लाहीले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । बम्जनले बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर आश्रम चलाइरहे पनि प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना हुने गरेको थियो । उनलाई अब सर्लाही पठाएर थप अनुसन्धान गरी मुद्दा दर्ता गरिने सीआईबीले जनाएको छ