
दाङ, १५ पुस । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको खुलेको छ ।घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ५० मिटर गहिरो सुरूङ भित्र भेटिएको थियो |
छातीमा भरूवा बन्दुकको गोली लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता समेत रहेका डिएसपी जनकबहादुर मल्लले बताए । उनका अनुसार छातीमा गोली लागेको घाउ छ । तर पोस्टमर्टम रिपोर्ट भने आउन बाँकी रहेको छ शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर
कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।उनीहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । एक प्रहरी अधिकारीका अनुसार शिवराजको हत्याको कारण अनैतिक सम्बन्ध जस्तो देखिएको छ । त्यसैलाई बहाना बनाएर सुरूङमा
लगेर हत्या गरेको जस्तो देखिन्छ । प्रारम्भिक बयानमा पनि उनीहरूले यस्तै कुरा गरेको एक प्रहरी अधिकारीले बताए ।शिवराजको हत्यामा प्रयोग भएको बन्दुक भने प्रहरीले फेला पारेको छैन् । शेर बहादुरले आफू एक्लैले शिवराजको हत्या गरेको बयान दिएको प्रहरीले दाबी गरेको छ । यो घटनामा क-कसको संलग्नता छ भन्ने अनुसन्धान भइरहेको ती प्रहरीले बताए ।शेर
बहादुर रोजगारीका लागि भारत जाने गरेको र त्यही बीचमा दीपासँग सम्बन्ध स्थापित भएकोजस्तो देखिएको भन्दै प्रहरीले त्यो कोणबाट अनुसन्धान अघि बढाएको छ ।एसपी रामबहादुर केसीले शिवराजको हत्या गरेर शव सुरूङभित्र लुकाएको हुनुपर्ने बताउनुभयो । घटनाबारे गहिरोसँग अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।घोराही ६ अघरा टोल विकास संस्थाका
अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किनु भएको थियो । उहाँ सम्पर्क बिहीन भएपछि खोजी सुरु गरिएको थियो । शिवराजको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो । स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरुङभित्र फेला परेको हो