
राप्ति पहिचान डटकम समाचारदाता
तुलसीपुर २९ कार्तिक २०८०,गुट उपगुट उपगुटको पनी सहायक गुटको गुटबन्दीको असर बाट ग्रस्त दाङ माओवादी भित्र फेरी बिबादको चुरो चुलिएको छ | प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आफ्नै पार्टीको बैठकबाट गरिएको सिफारिस विपरीत राप्ती प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेपछि माओवादी केन्द्रमा विवाद सुरू भएको छ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल नेपाल बाहिर रहेको बेला कार्यवाहक मुख्यमन्त्रीको हैसियतमा अर्थमन्त्री मास्कीले मन्त्रिपरिषद बैठक राखेर प्रदेशका १३ वटा अस्पतालमा अध्यक्ष नियुक्त गरेका थिए।

गत कात्तिक २३ गतेको मन्त्रिपरिषद बैठकबाट आफ्नै भान्जी-ज्वाइँ समेत रहेका सल्यानका दीपकबहादुर शाहलाई राप्ती प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेपछि माओवादी केन्द्र दाङका नेता कार्यकर्ताहरू असन्तुष्ट बनेका छन्।

मुख्यमन्त्री र विभागय मन्त्री समेत नेपाल बाहिर भएको मौका पारी कार्यवाहक मुख्यमन्त्रीको हैसियतमा अस्पतालका अध्यक्षहरू नियुक्त गरेको भन्दै सार्वजनिक रूपमै मन्त्री मास्कीको आलोचना भइरहेको थियो। त्यसैमाथि उनकै पार्टीले अर्कै व्यक्तिलाई अध्यक्ष बनाउन गरेको सिफारिस विपरीत लुम्बिनी प्रदेश बाहिरका आफ्नै भान्जी-ज्वाइँलाई अस्पताल विकास समितिको अध्यक्ष बनाएपछि मन्त्री मास्कीले मनपरी गरेको भन्दै माओवादी कार्यकर्ता असन्तुष्ट बनेका हुन्।
अस्पताल विकास समितिहरूमा पद खाली भएपछि सरकारले पदाधिकारी नियुक्त गर्ने चर्चा चलेको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र, तुलसीपुर उपमहानगर कमिटीले राप्ती प्रादेशिक अस्पतालको अध्यक्षमा स्थानीय शशिकिरण ढकाललाई नियुक्त गर्न सिफारिस गरेको थियो।
गत कात्तिक १४ गते बसेको नगर कमिटिको बैठकले नगर पार्टी कार्यालय सदस्य समेत रहेका ढकाललाई अध्यक्ष नियुक्त गर्न माओवादी केन्द्र, लुम्बिनी प्रदेशलाई सिफारिस गरेको थियो। माओवादी केन्द्र, लुम्बिनी प्रदेशका अध्यक्षलाई सम्बोधन गरी पठाइएको सिफारिस पत्रमा नगर समिति अध्यक्ष खुसीराम चौधरी र सचिव तुलाराम भण्डारी ‘बारूद’ ले संयुक्त रूपमा
हस्ताक्षर गरेका थिए। जिल्ला पार्टीलाई बोधार्थ पनि दिइएको थियो।तर मन्त्री मास्कीले नगर समितिले गरेको सिफारिस विपरीत अध्यक्ष नियुक्त गरे।माओवादी केन्द्र, दाङका अध्यक्ष सुवास पुनले अस्पतालको अध्यक्ष नियुक्त गर्दा जिल्ला पार्टीसँग कुनै समन्वय नगरिएको बताए। पार्टीभित्र नगर कमिटी नै कार्यकारी रहने भएकाले नगर समितिले नै अस्पतालको अध्यक्ष नियुक्तिका
लागि सिफारिस गरेको उनले बताए। तर जिल्ला पार्टीसँग मन्त्री मास्कीले समन्वय नै नगरी अर्कै प्रदेशका व्यक्तिलाई अध्यक्ष नियुक्त गरेको उनले बताए।मैले पनि समाचार सार्वजनिक भएपछि बल्ल थाहा पाएँ। नगर समितिले गरेको सिफारिस विपरीत मन्त्रीज्यूले अर्कै व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न हुने थिएन। किन गर्नुभयो थाहा भएन,’ उनले भने।
पार्टीले अध्यक्षका लागि सिफारिस गरेका शशिकिरण ढकालले प्रदेश कमिटीले नगर कमिटीलाई अध्यक्षका लागि व्यक्तिको नाम सिफारिस गर्न भने पनि मन्त्रीले आफ्नै भान्जी-ज्वाइँलाई अध्यक्ष नियुक्त गरेर पार्टीमा काम गरेका कार्यकर्तामाथि अन्याय गरेको बताए।पार्टीले कि त व्यक्तिको नाम सिफारिस गरेर पठाउन भन्न हुने थिएन। नाम सिफारिस भएपछि किन बाहिरबाट
अर्कै व्यक्तिलाई नियुक्त गरियो? त्यसबारे मन्त्रीज्यूले पार्टीमा प्रस्ट्याउनुपर्छ,’ उनले भने।ढकालले आगामी मंसिर ५ गते बस्ने पार्टीको जिल्ला कमिटी बैठकमा यस विषयमा कुरा उठाउने बताए।नाम बताउन नचाहने नगर कमिटिका अर्का एक सदस्य पनि मन्त्री मास्कीको निर्णयविरूद्ध पार्टीमा उजुरी दिने बताए।पार्टीको बैठकमा यो विषयलाई एजेन्डा बनाएर लैजाने मात्र होइन,
मन्त्रीको मनपरीविरूद्ध उजुरी दिने तयारीमा छौं, ती सदस्यले भने।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अति नजिकका रहेकै कारण मन्त्री मास्कीले एकलौटी निर्णय गरे पनि त्यसविरूद्ध आफूहरू बोल्न नडराउने ती सदस्यले बताए।
‘नगर समिति बैठकले तुलसीपुरकै शशिकिरण ढकाललाई अध्यक्ष बनाउन सिफारिस गरेको थियो। पार्टी कमिटी बैठकको माइन्युट नै त्यही हो। मन्त्रीले अर्कै व्यक्तिलाई नियुक्त गरे पनि हामी त्यसलाई मान्दैनौं,’ उनले थपे।अध्यक्ष नियुक्त भएका दीपकबहादुर शाह पार्टीभित्र त्यति सक्रिय नभएको तर पहुँच र नातावादका कारण नियुक्ति दिइएको ढकालले गुनासो गरे।
पहिलो कुरा त पार्टीको सिफारिस विपरीत भयो। अर्को कुरा उहाँ पार्टीभित्र सक्रिय पनि हुनु हुन्न। उहाँ लुम्बिनी प्रदेशको मतदाता समेत होइन, ढकालले भने।शाह कर्णाली प्रदेशको सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर १५ का स्थायी बासिन्दा हुन्। गएको स्थानीय तहको निर्वाचनमा सोही वडाको अध्यक्षका उम्मेदवार बनेका उनी एमालेका लोकमान बुढाथोकीसँग पराजित भएका थिए।
शाहलाई हाल दाङको बबई गाउँपालिका वडा नम्बर ४ को ठेगाना तोकेर अस्पतालको अध्यक्ष पदको नियुक्ति पत्र दिइएको छ। उनले तुलसीपुरमा निजी स्कुल चलाउँदै आएका छन। मन्त्रीको मनपरी वा गलत निर्णय जे सुकै भए पनी दाङ माओवादी भित्रको बिबाद भने छताछुल्ल हुने गरी सतहमा आएको छ | यो घटनाले माओवादी भित्र परिवारवाद हावी हुँदै आएको कुरा पनी प्रस्ट देखिएको छ |