यी चार उद्देश्य बोकेर एमालेले थाल्ने भयो मध्यपहाडी राजमार्ग केन्द्रित अभियान

काठामाडौं २२ कार्तिक २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि तीन साता लामो मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्दैछ। झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अभियानमा पदयात्रा, साना–ठूला सभा, उद्योगी, व्यवसायी, बुद्धिजीवीहरूसँग अन्तरक्रियालगायत १२–१५ प्रकारका गतिविधि गर्ने योजना रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘नेपाल हिमाल, पहाड, तराई तीनवटा भौगोलिक संरचनाले बनेको मुलुक हो। त्यसमध्ये पहाड सबैभन्दा बढी भूभाग ओगट्ने, जैविक विविधता, कृषि, पशुपालन, जलस्रोतको भण्डार आदिका दृष्टिले महत्त्वपूर्ण भूभाग हो,’ उनले भने, ‘पहाडी भूभाग सामाजिक–सांस्कृतिक विविधताको क्षेत्र पनि हो। यही कुरालाई ध्यानमा राखेर पार्टीले पहाडी क्षेत्रको विकासका सन्दर्भमा महत्त्वपूर्ण योजना पनि बढाउँदै आएको छ। मध्यपहाडी लोकमार्ग बनाउने, त्यो लोकमार्गमा १० वटा आधुनिक सहर निर्माण गर्ने यी सबै कुराहरू हाम्रा योजनाभित्रकै विषयहरू हुन्।’

ज्ञवालीले पहाडी क्षेत्रलगायत देशका विभिन्न भूभागमा पछिल्लो समय एउटा विरोधाभाष देखिएको बताए। त्यसलाई अन्त्य गर्न पनि अभियानको जरूरी भएको उनले औंल्याए।

‘के देखिएको छ भने पहाडी क्षेत्रमा विकास र पूर्वाधारहरू पर्याप्त पुगेका छन्। तर, विकास गाउँतिर पस्ने, पहाडतिर पस्ने, नागरिकहरू तराई, सहर, अझ पछिल्लो समय त विदेशतिर बसाइँसराइँ गर्ने जुन एउटा विरोधाभाष छ, त्यसलाई अन्त्य गर्न जरूरी छ,’ उनले भने।

पहाडको विकासमा चुनौती के हुन्? जसले पहाडको बसाइँसराइँलाई कम गर्न सकिन्छ, भनेर पहिल्याउन आवश्यक भएको र अभियान त्यसैको कडी भएको ज्ञवालीले सुनाए। 

‘पहाड समृद्ध नहुञ्जेलसम्म राष्ट्र समृद्ध हुन सक्दैन, विकासका समस्याहरूको पहिचान गर्दै, पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्त्वपूर्ण उद्देश्य हुने छ,’ उनले भने।

अभियानको ध्येय सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने रहेको उनले बताए।

‘अहिले विभिन्न कोणबाट देखापर्न थालेका संकीर्ण अतिवादी सोचहरूलाई निस्तेज गर्ने र बलियो राष्ट्रिय एकताको आधार निर्माण गर्ने यसको दोस्रो उद्देश्य हुने छ,’ उनले भने।

त्यस्तै एमालेले २०८० साललाई कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको सन्दर्भमा हीरक जयन्तीकारूपमा मनाउँदै छ। अभियानका माध्यमबाट कम्युनिस्ट पार्टी स्थापना यता गरेका कामहरूका बारेमा नागरिकलाई सुसूचित गरिने उनले बताए।

‘यो वर्ष कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष हो। पुष्पलालले स्थापना गर्नुभएको पार्टी ७५ वर्षमा पुगेको छ र पुष्पलालको नाममा निर्मित राष्ट्रिय संरचनामा यो अभियान चलाउँदा हाम्रो इतिहासलाई पनि जोड्न चाहेका छौं। गएको ७५ वर्षमा हामीले केके काम गर्‍यौं? ती कामको बारेमा हामी सन्देश दिन चाहन्छौं,’ उनले भने।

ज्ञवालीले अहिले समाजमा निराशाको खेती मौलाएको बताए। यो निराशा, सामाजिक असन्तुष्टिलाई परिवर्तनकै विपक्षमा उभ्याउने खालका गतिविधि भइरहेको उनको बुझाइ थियो। त्यसलाई चिर्न पनि अभियानको जरुरी रहेको उनले बताए।

‘अहिले जुन ढंगको निराशाको खेती मौलाउने कोसिस भइरहेको छ। यो निराशा, सामाजिक असन्तुष्टिलाई परिवर्तनकै विपक्षमा उभ्याउने खालका जुन प्रयास भइरहेका छन्। थुप्रै ठाउँमा समस्याहरू होलान्। तथापि, देश अगाडि पनि बढिरहेको छ, निश्चित ठाउँमा कामहरू अगाडि बढिरहेका छन्, ती कुराहरू, भइरहेका राम्रा कामहरूलाई उजागर गर्दै यो देशलाई राम्रो बनाउन सकिन्छ,बनाउने शक्ति हामी यहीँ छौं भन्ने कुराको सन्देश दिने यसको उद्देश्य हो,’ उनले भने।

नागरिकसँग संवाद गर्दै, नागरिकको कुराहरू सुन्दै उनीहरूका गुनासो, सुझाव मनन गर्दै अभियान अघि बढ्ने उनले बताए।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय दिने गरी हामीले यो अभियान अगाडि बढाएका हौं,’ उनले भने, ‘मंसिर १४ गते बिहान झुलाघाटमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर अभियान सुरू हुने छ। चिवा भञ्ज्याङमा पनि त्यस्तै केही प्रतीक राखेर अभियानको समापन हुने छ।’

एमालेले यसअघि २०७३ साल फागुन २१ गतेदखि चैत ९ गतेसम्म मेची–महाकाली अभियान सुरू गरेको थियो। अभियानकै क्रममा सप्तरीको मलेठमा गोली चलेपछि पुनः हेटौंडाबाट सुरू गरेर सुर्खेत पुर्‍याएर टुंग्याएको थियो।

साभार: setopati.com

प्रतिक्रिया