मुगु घटना; हत्या भएको ५ दिन सम्म ४ जनाको हत्या गर्ने हत्यारा पत्तो लागेन

सुर्खेत — मुगुको छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँको एकाघरका चार सदस्यको हत्या भएको घटनामा पाँच दिन बितिसक्दासमेत अनुसन्धान टोलीले अझै ‘क्लु’ भेट्टाउन सकेको छैन । कुकुरसहित अनुसन्धान टोली परिचालन गरे पनि घटनाको कारण अझै नखुलेको हो ।

मन्दु गाउँको एक घरका आमा र तीन सन्तान गत बुधबार शंकास्पद अवस्थामा मृत भेटिएका थिए । दसैंको टीका थाप्न मंगलबार बालबच्चासहित माइतीमा गएकी २८ वर्षीया श्रीदेवी बोहरा भोलिपल्ट घर फर्केकी थिइन् ।

घरमा ताला लगाइरहेका अवस्थामा उनीसहित ७ महिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोज बोहरा मृत अवस्थामा मृत फेला परेका थिए । घरमा चहलपहल नदेखेपछि छिमेकीले उनीहरुको खोजी गरेका थिए । ताला फोरेर भित्र हेर्दा उनीहरुलाई रगताम्य अवस्थामा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले शुक्रबार सुर्खेत र जुम्लाबाट छुट्टाछुट्टै टोली खटाएको थियो । प्रहरी टोलीमा कुकुरलाई समेत लगिएको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी भीमप्रसाद ढकाल थप अनुसन्धान टोली लिएर आफैं पनि घटनास्थल पुगेका छन् ।

कुकुरले समेत ‘क्लु’ पाउन नसकेको डीआइजी ढकालले बताए । ‘८ गतेको घटना प्रहरीलाई १० गते थाहा भयो । कुकुरसहितको टोली ११ गते आइपुग्यो,’ उनले भने, ‘त्यसले गर्दा कुकुरलाई अपराधी पत्ता लगाउन समय लागेको हो ।’ प्रहरीले गाउँलेसँग सोधपुछ गर्नुका साथै घटनास्थलमा प्रमाणका रुपमा भेटिनसक्ने सबै सामान नियन्त्रणमा लिएको छ । ‘अनुसन्धानका सबै विधि अपनाइएको छ । गाउँलेसँग सोधपुछ गरिरहेका छौं, केही पत्ता लागेको छैन,’ उनले भने ।

श्रीदेवीका श्रीमान दीपक बोहरा कतारबाट फर्केपछि शव पोष्टमार्टमका लागि शनिबार जिल्ला अस्पताल लगिएको थियो । दीपक वैदेशिक रोजगारीका लागि गत वर्ष कतार पुगेका थिए । दसैंका दिन श्रीदेवी र दीपकबीच भिडियो पनि कुराकानी भएको थियो । घटनास्थल मुन्दु गाउँ मुगु सदरमुकाम गमगढीदेखि एक घण्टाको पैदल दुरीमा पर्छ । साभार; कान्तिपुर दैनिक बाट

प्रतिक्रिया