दाङको तुलसीपुर स्थित खाद्यव्यबश्था कार्यालयले किसान का खसी बोका खरिद गर्दै

दाङ २८ असोज २०८० । प्रत्येक वर्ष झै यस पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले दशैँका लागि आइतबारदेखि खसीबोका खरिद गरेको छ । कार्यालयले यसवर्ष जिल्लाबाट सात सय खसीबोका खरिद गरेर काठमाडौँ पठाउने भएको छ । कार्यालयले खरिद गर्न थालेपछि व्यवसायिक रुपमा बाख्रा पालन गरेका किसानहरू खुशी भएका छन् । बजार मूल्यभन्दा बढि र नगद पाइने भएकाले माग भन्दा बढि किसानले नाम टिपाएका थिए ।

बिहान ११ बजेदेखि कार्यालयले खसीबोका खरिद गर्ने समय तोकेको थियो । तर, किसानहरू भने बिहानै खसीबोका लिएर कार्यालयमा आइपुगेको थिए । खसीबोका बिक्री गर्नको लागी किसानहरूले पहिले नै नाम टिपाएका थिए । गाउँ घरको मूल्य भन्दा बढि र एकै पटक नगद पैसा पाइने भएकाले संस्थामा खसीबोका बिक्री गर्ने आएको तुलसीपुर ४ का ओम प्रकाश खनालले

बताए ।उनले भने,‘ ३ गोटा खसी ल्याएर पहिलो पटक बिक्री गर्न आएको हुँ । यसभन्दा अगाडि गाउँ घरमै बिक्री गरेको थिए । गाउँ घरको भन्दा केही रुपैयाँ बढि पाइने र सबै एकमुष्ठ पाइने भएकाले ३ दिन अगाडि नाम टिपाएर गएको थिए । ’ गाउँघरमा बिक्री गर्दा एक पटक ३ गोटा बिक्री नहुने र एउटा– एउटा बिक्री गर्दा पैसा पनि नदेखिने र उधारो लैजना गर्ने भएकाले संस्थाले एकै पटक खरिद गर्ने र नगद पनि दिने भएकाले सहज भएको उनको भनाइ छ ।

यस्तै कार्यालयमा तुलसीपुर ३ गहतेकी डम्बरी श्रेष्ठ पनि ३ वटा खसी ल्याएर बिक्री गर्न आएकी थिइन् । उनले प्रत्येक बर्ष यसरी नै कार्यालयमा आएर दुई ÷ तीन गोटा खसी बच्ने गरेको बताइन् । उनले पनि कार्यालयले प्रत्येक बर्ष किसानहरुबाट खसीबोका खरिद गर्दा धेरै राम्रो लागेको बताइन् । उनले भनिन्,‘ यहाँ घरमा कति गोटा हुन्छ, सबै ल्याए एकै पटक बिक्री हुन्छ । पैसा पनि एकमुष्ठ पाइन्छ । त्यसले गर्दा पनि हामी जस्ता किसानहरुलाई सहज भएको छ । गाउँघरमा किन्ने मुल्य भन्दा पनि यहाँ बढि पाइन्छ ।’

गाउँघरमा तौल अनुसार बिक्री हुँदैन् । अनुमानको भरमा बिक्री गर्नु पर्ने हुँदा पनि आफूहरुलाई घाटा लाग्ने भएकाले कार्यालयले तौल अनुसार नै मुल्य दिने भएकाले पनि राहत हुने उनको भनाइ छ । यस्तै उनले व्यवसायिक रुपमा बाख्रा पालन गर्दा घाँसपात र रोगको समस्या हुने गरेको बताइन् । उनले भनिन्,‘ ठुलो संख्यामा बाख्रा पालौँ भने पनि प्रशस्त घाँसपात पाइदैन् । त्यसैमा रोग पनि लाग्ने हुन्छ । जंगलबाट घाँसपात ल्याउन पाइदैन् । रोग लागेपछि कतैबाट उपचारको लागि सहयोग पाइदैन् । जसले गर्दा पनि हामी जस्ता किसानहरुलाई समस्या छ ।’

लामो समयदेखि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आउनु भएका किसान तुलसीपुर ३ का यम बहादुर बिकले प्रत्येक बर्ष ५÷६ गोटा खसीबोकाहरु संस्थाका बिक्री गर्दै आएका छन् । उनले गत बर्षको भन्दा अहिले मुल्य कम भएको बताए । उनले भने,‘ गत बर्ष ५ गोटा खसीबिक्री गरेको थिए । ७० हजार भन्दा बढि पैसा आएको थियो । अहिले ४ गोटा ल्याएको छु । ५० हजार जति हुन्छ की भन्ने आश रहेको छ । ’उनले पनि गाउँघरमा एक÷एक गोटा विक्री गर्दा पैसा नदेखिने भएकाले विगत ४ बर्षदेखि खाद्यमा आएर बिक्री गर्ने गरेको बताए ।

गत बर्ष ५५५ देखि माथि र ५७० देखि तल मुल्य थियो । अहिले ५४२ देखि ५६२ सम्म खसीबोका अनुसारको मुल्य रहेको उनको भनाइ छ । उनले पनि करिब १० बर्षदेखि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आइरहेको भन्दै अहिलेसम्म राज्यले नहेरेको गुनासो गरे । उनले भने,‘ बाख्रा पालन भनेको लामो समयसम्म आम्दानी हुँदैन् । बिरामी भएपनि हामीले उपचार गर्नको लागि स्थानीय सरकारबाट सहयोग पाउँदैनौँ । डाक्टरहरुलाई देखाउँदा महंगो खर्च लाग्छ ।’

त्यस्तैगरी संस्था पहिलो दिन २ सय गोटा खरिद गरेर काठमाडौँ पठाएको छ, भने जिल्लाको अमिलिया , लमही घोराही लगायत क्षेत्रमा खरिद योजना रहेको शाखाका प्रमुख तिलक सुनार बताए । उनका अनुसार यस पटक जिउँदो खसीबोकाको मूल्य ५४२ देखि ५६२ सम्म तोकिएको छ । १८ किलो भन्दा माथिको बोका खरिद गर्ने भन्दै उनले त्यसको मूल्य ५४२ रुपैयाँ प्रतिकिलो रहेको छ ।

यस्तै २० देखि २५ किलो जिउँदो खसीको मुल्य ५४५ र २५ किलो भन्दा माथिको मुल्य प्रतिकिलो ५६२ मुल्य तोकिएको उनको भनाइ छ । कार्यालयमा खसीबोका ल्याएर बास्तविक किसानहरु आउने गरेको समेत उनको भनाइ छ । पहिलो दिन तुलसीपुर लगायत क्षेत्रबाट खसीबोकाहरु खरिद बिक्री गरेको भन्दै अब घोराही, लमही, अमिलिया लगायत क्षेत्रबाट खरिद गर्ने योजना रहेको उनको भनाइ छ । उनका अनुसार अहिले जिल्लाबाट ७ सय गोटा खसीबोकाहरु पठाउने भनेर पत्र आएको छ । तर, यहाँ १५ सय जति किसानहरुले नाम टिपाएर जानु भएको छ ।

प्रतिक्रिया