
काठमाडौ, १९ श्रावन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने माग उठेको छ । सुन तस्करीमा संलग्न रहेको भनेर सार्वजनिक रुपमा प्रश्न उठिरहेको भन्दै उपाध्यक्ष महरामाथि छानबिन गर्न माग भएको हो । काठमाडौँमा चलिरहेको केन्द्रीय समिति बैठकमा सांसद तथा केन्द्रीय सदस्य लेखनाथ दाहालले
सार्वजनिक रुपमा प्रश्न उठेकाले महरामाथि पनि छानबिन गरिनुपर्ने माग राख्नुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उहाँले माओवादीको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेकाले छानबिन गरेर प्रष्ट पार्नुपर्ने बताउनुभयो ।अहिले छानबिन नगर्ने हो भने पार्टीले उन्मुक्ति दिएको
भनि सधैं प्रश्न उठ्ने भएकाले त्यसको निवारणका लागि पनि छानबिन हुनुपर्ने दाहालको भनाइ छ । केही समय अगाडि त्रिभुवन विमानस्थलबाट विद्युतीय चुरोटमा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उहाँका छोरा
राहुलको नाम जोडिएको थियो । सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र राहुलको पटक–पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएपनि माओवादीले यसबारेमा केही बोलेको छैन ।