पत्रकार उजिर मगर लाई ज्यान मार्ने धम्की दिने कार्य निन्दनीय कार्य हो-प्रेस चौतारी नेपाल

काठमाडौं, १८ साउन । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले समाचार लेखेकै कारण पत्रकारलाई ज्यान मार्नेसम्मको धम्की दिएप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज विज्ञप्ति जारी गर्दै संगठनले समाचार लेखेकै आधारमा प्रेस चौतारी नेपालका सल्लाहकार सोत रहेका पत्रकार उजिर मगरलाई ज्यान मार्ने धम्की दिनु अत्यन्त निन्दनीय र खेदजनक रहेको जनाएको छ ।

‘समाचार लेखेकै आधारमा पत्रकारलाई ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय र खेदजनक छ । यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र चुनौती हो । यसले पत्रकारको सुरक्षाको विषय गम्भीर बनेको छ । तसर्थ उक्त घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारसँग प्रेस चौतारी नेपाल जोडदार माग गर्दछ,’ संगठनका महासचिप हिरामान लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार मगरलाई सुन तस्करीमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङबारे समाचार लेखेको विषयलाई लिएर उनका आफन्तले ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव समेत रहेका पत्रकार मगरले यही साउन १६ गते लोकान्तर डटकममा ‘सुन काण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा समाचार लेखेका थिए ।

सोही समाचारलाई लिएर अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ बिन्दु बुढाका श्रीमान् बागलुङ, ढोरपाटन–४, वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भान्जी दीपा श्रेष्ठ, दाइ अमरले ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेका छन् । यसैगरी छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले वरिष्ठ पत्रकार मगरलाई ‘जहाँ भेटिन्छ त्यहीँ मार्ने’ धम्की दिंदै आएको विज्ञप्तिमा उल्लेख छ ।

सोही घटनालाई लिएर नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारी गरेर खेद प्रकट गरिसकेको छ ।

प्रतिक्रिया