कपिलवस्तु २६ असार २०८० | कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएको छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइको ज्यान गएको हो । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको ज्यान गएको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । सोमवार राति
घरमा सुतिरहेको बेला उनीहरुलाई सर्पले डसेको हो । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि स्थानीय अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा ज्यान गएको हो ।यसैगरी सोमवार हिजो बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया
ममता रैदासको पनि सर्पको डसाइबाट ज्यान गएको छ । सर्पले डसेलगत्तै उनलाई गोरुसिङ्गेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । सोमवार नै महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि सर्पको डसाइबाट
ज्यान गएको छ । हिजो दिउँसो घर नजिकै पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो । लगत्तै गोरुसिङ्गे उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उहाँको पनि बाटोमै ज्यान गएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो