काठमाडौ , २१ जेष्ठ २०८० । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ । योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउने मन्त्रालयको दाबी छ ।
सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन । तर, कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ । सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको बताएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागी श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको जानकारी दिनुभएको छ ।