राप्ति प्रादेशिक अस्पताल २ सय बेडको बनाउछौं- मुख्यमन्त्री

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुई बेडमा अस्पताल बनाउने प्रक्रियामा आफूहरू लागेको बताउनुभयो ।


मंगलबार १६ औँ गणतन्त्र दिवसका अवसरमा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रममा बोल्दै उहाँले दाङलाई मात्र नभई लुम्बिनी प्रदेशलाई नै कसरी राम्रो बनाउने भन्ने बारेमा आफूहरूकै सोच रहेको पनि बताउनुभयो ।
उहाँले प्रदेशका दुई वटा प्रादेशिक अस्पतालहरू रहेको भन्दै यि अस्पतालहरू अरु अस्पतालहरूको स्रोत केन्द्र रहेको समेत बताउनुभयो । उहाँले राप्ती प्रादेशिक अस्पताल दाङका मात्र नभइ कर्णाली प्रदेशको बिरामीहरू पनि यहाँ उपचार गर्न आउने भएकाले यसलाई अझ राम्रो बनाउन सबैको ध्यान केन्द्रित हुनु पर्ने समेत धारणा व्यक्त गर्नभयो ।

यस्तै उहाँका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अरबको टेन्डर प्रक्रिया अगाडि बढेको छ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई पनि सुविधा सम्पन्न बनाउनको लागि के के कुराहरूको आवश्यक पर्छ, त्यो सबै गर्न आफूहरू तयार रहेको समेत उहाँको भनाइ छ ।


यस्तै कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले मुख्यमन्त्रीले आफूलाई राप्ती प्रादेशिक अस्पतालाई छिट्टो भन्दा छिट्टो दुई सय बेडको लागि प्रक्रिया अगाडि बढाउन निर्देशन भएको समेत बताउनुभयो । उहाँले यसका लागि मन्त्रालयबाट काम अगाडि बढाएको समेत बताउनुभयो । जिल्लाबाट प्रदेशमा मुख्यमन्त्रीसहित ३ जना मन्त्री र प्रदेशको योजना आयोगको उपाध्यक्ष पनि यहीबाट भएको हुँदा यहाँका नागरिकहरूको अपेक्षा स्वास्थ्य क्षेत्र र अन्य विकासका क्षेत्रमा रहेको बताउनुभयो ।

प्रतिक्रिया