रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
बाँफिकोट गाउँपालिका-८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार दुर्घटनामा परी सानीभेरी गाउँपालिका-५ का ७० वर्षीय कणर् बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका-५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका-८ की २२ वर्षीय रेखा केसी अनि उहाँको २२ दिने छोरा रोशन केसीको मृत्यु भएको हो ।
मृतकको संख्या र पहिचानबारे प्रहरीले भने अहिलेसम्म पुष्टि गरेको छैन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार चालकसहित जम्मा १५ सवार जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएका छन् ।
यसमध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ भने बाँकी ६ जना सामान्य घाइते भएका छन् । गम्भिर घाइते सानीभेरी-५ का प्रेम बाठा मगर, मृतक शितल कुसारीका छोरा २ वर्षीय प्रसिद्ध कुसारी, सानीभेरी-५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुरस्थित मेडिकल कलेज पुर्याइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, सामान्य घाइतेहरु जिप चालक सानीभेरी-५ का दिपक वाठा मगर र सोही स्थानमा मनिषा बस्नेत, रीता खत्री, कल्पना केसी, कणर्वीर पुन र कुसारीलाई जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पुर्याइएको बताउँदै प्रहरी निरीक्षक श्रेष्ठले मृतक भनिएका ५ जनाको जिल्ला अस्पताल पुर्याएपछि मात्रै मृत्यु पुष्टि हुने जानकारी दिनुभयो ।
बाँफिकोट गाउँपालिका-८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।