दाङ जिल्लाकै गौरवको सडक स्तरोन्नतिको आयोजना घोराही—तुलसीपुर चारलेन सडक चाउमिन जस्तै बल्झिएको छ । चाउमिनका रेशामा फेद टुप्पा पहिल्याउन कठिन भएजस्तै यो चारलेन परीयोजना पनि त्यसरीनै बल्झिएको छ । यसले नागरीकहरुलाई दैनिक सास्ती मात्र होइन, वातावरणिय प्रदुषणका कारण हुने रोगको समेत शिकार बनाएको छ । सडक किनाराका स्थानीयबासीहरुमा दम तथा स्वासप्रश्वासमा समस्या देखिन थालेको छ ।
भारतीय एक्जिम बैंकको सशर्त सहुलियत ऋणमा भारतकै मुम्बै स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रोजेक्टले यो सडक स्तरोन्नतिको ठेक्का लियो । यसलाई सडक विभाग अन्तर्गतको रोड इम्प्रुभमेन्ट प्रोजेक्ट (आरआइपि) मार्फत हेरिन्छ । तर आरआइपिले पनि यसको समस्याको गुजुल्टो फुकाउने सन्दर्भमा कुनै अर्थपुर्ण भूमिका खेल्न सकेको छैन । लमहीको रातोडाडामा रहेको परीयोजना कार्यालयले पनि यसको अन्तिम टुंगो लगाउने हैसियत राख्दैन ।
एक्जिम बैंकको एक करोड २१ लाख अमेरीकि डलर बजेटको यो आयोजनाको ठेक्का लिने तथ्य इन्जिनियरीङ कामकालागी फिल्डमा आएन । अहिले सम्म ७ जना प्रतिनिधि फेर्यो । तर काम हुन सकेन । चारलेनको सकस कहाँ गुजुल्टो परेको छ ? भन्ने लमही परीयोजना पनि अन्योलमा छ । किनकि पेटि ठेकेदार फेर्ने र काम गराउने काम काठमाण्डौकै परीयोजना कार्यालयबाट हुँदै आयो ।
खासमा चारलेन प्रमुख चारवटा कारणले बल्झिएको छ । सडक विस्तारका क्रममा हजारौं रुखहरु काटिए । वरपिपलदेखि आम मसलासम्मका रुखहरु काटिए । कतिपय स्थानमा सालका रुखहरु पनि कटान भए । तर ती काठहरु डिभिजन वन कार्यालयलाई ह्यान्ड ओभर गर्ने काम निर्माण कम्पनीबाट हुन सकेको छैन । काटिएका काठहरु कसैले सोनापुरको यार्डमा राखिएको आँकलन गरीरहेका छन्, कसैले विचबाटै काम लाग्ने काठहरु विक्रि भैसकेको बताउँदै आएका छन् । चारलेन परीयोजनाको काठ र नदीजन्य पदार्थ राखिएको सोनापुर सिमेन्टको यार्डमा दुई वटा ताला लगाइएका छन् । एउटा सुरुको ठेकेदार अनुप पाण्डेको, अर्को सोनापुर सिमेन्ट उद्योगको ।
चारलेन स्तरोन्नतीका क्रममा यसै साता फेरी सडकमा पारिएका खाडलमा दुर्घटना भएर थप तीन जनाको मृत्यु भएको छ । प्युठानबाट दाङ आउँदै गरेका मोटरसाइकल यात्री सडक दुर्घटनामा निधन भयो । करीव चारलेन सडक निर्माण सुरु भए यता सडक दुर्घटनामा परेर कम्तिमा ३० जनाको निधन भैसकेको छ ।
अनुपले चारलेन सडक निर्माणका क्रममा सिमेन्टको विल भुक्तानी नगरेको भन्दै ती सामाग्रीहरु ताला लगाउनु परेको सोनापुर सिमेन्ट उद्योगका अधिकारीहरुले बताउँदै आएका छन् । चारलेन सडकका नाममा खोलानालाबाट निकालिएका ढुंगा वालुवा कहाँ राखिएका छन ? ती सडकमा प्रयोग भए भएनन् भन्ने पनि निक्यौल हुन सकिरहेको छैन । त्यसैगरी यस अघिका पेटि ठेकेदारहरुले मजदुर लगायत विभिन्न पसलहरुमा रहेको उधारो कति हो ? त्यो पनि एकिन हुन सकिरहेको छैन ।
यी उल्झनहरु फुकाउन जिल्ला तहमा भएका वार्ता निष्कर्षविहीन भैरहेका छन् । सिडिओ एक्लैले सक्दैनन्, परीयोजना प्रमुखले सक्दैनन्, जिल्ला समन्वय समितिको संयोजनले मात्रै पनि असम्भव देखिएको छ । यी उल्झन फुकाउन केन्द्रमा छलफल प्रक्रिया त सुरु भएको छ, तर अन्तिम निस्कर्ष निस्कन सकेको छैन ।
चारलेनको ठेक्का तोड्ने प्रक्रिया अनुरुप निर्माण कम्पनीलाई परीयोजनाले चौध दिने सूचना जारी गरेको थियो । तर तीन साता वित्दा पनि निर्माण कम्पनी सम्पर्कमा आएको छैन । निर्माण कम्पनी किन सम्पर्कमा आउन चाहेको छैन भन्ने पनि नेपाल सरकारका अधिकारीहरुलाइ जानकारी छैन । ‘हामीहरु अहिले पनि यहि छलफलमा छौं, ती उल्झनहरुलाई कसरी सुल्ट्याउने भनेर, तर अन्तिम निष्कर्ष निस्केको छैन’ चारलेन सडक परीयोजनाका कल्सल्टेन्ट इश्वर अमागाइले बताए । परीयोजना कार्यालय लमहीका अधिकारीहरुले भने यो विषयमा सम्पर्कमा आउनै चाहदैनन् । आयोजना प्रमुख आशिष थापाको फोन रिसिभनै हुँदैन ।
चारलेन स्तरोन्नतीका क्रममा यसै साता फेरी सडकमा पारिएका खाडलमा दुर्घटना भएर थप तीन जनाको मृत्यु भएको छ । प्युठानबाट दाङ आउँदै गरेका मोटरसाइकल यात्री सडक दुर्घटनामा निधन भयो । करीव चारलेन सडक निर्माण सुरु भए यता सडक दुर्घटनामा परेर कम्तिमा ३० जनाको निधन भैसकेको छ । सडक धुलाम्मे र हिलाम्मे हुने अवस्थामा छ । तुलसीपुर र घोराही उपमहानगरपालिकाका युवा व्यवसायीहरुको पहलमा सडकका खाडलहरु त पुरीए, तर दीर्घकालीन रुपमा यसरी पुरिएका खाडलहरुबाट सहज यातायातको परिकल्पना गर्न सकिंदैन ।
यो वेथितिका विरुद्धमा पटक–पटक सडक बन्द गरिए, चक्का जाम गरिए, संघीय संसदमा पनि यहाँका सांसद दिपक गिरीले आवाज उठाए, तर समस्याको सम्वोधन राज्यको माथिल्लो निकायबाट हुन सकेको छैन । ठेक्का तोड्ने सूचना निकालेर पनि सरकारी अधिकारीहरु निर्णय विहिन अवस्थामा छन् । न ठेक्का तोडिएको छ, न नयाँ प्रक्रिया सुरु भएको छ । यसले जिल्लाबासीलाई निकै सास्ती दिएको छ ।
साक्षी खबरवाट