
राजधानी समाचारदाता
काठमाडौं १३ फागुन २०७९ ,,नेपाली कांग्रेस ले आफ्नो पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई रास्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। फागुन १३ गते बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवारबनाउने निर्णय गरेको हो। बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउनु पर्ने प्रस्ताव
गरेका थिए।कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्।गठबन्धनका सबै नेताहरू पाैने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ। कांग्रेसको निर्णयसँगै पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने पक्का भएको छ। रामवरण यादव मुलुकको पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बनेका थिए।
पौडेल देशका प्रमुख नेताहरूमध्ये सम्भवतः सबैभन्दा लामो राजनीतिक इतिहास भएका राजनीतिज्ञ हुन्। राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गरेपछि वामपन्थी विद्यार्थी राजनीतिको झुकाव छाडेर पौडेल नेपाली कांग्रेससँग जोडिएका थिए। ३० वर्षे लामो पञ्चायतका दौरान पौडेलले कांग्रेसमा बसेर अविचलित रूपमा संघर्ष गरे।
उनी २०२७ सालमा गठित नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिए। पञ्चायतको समयमा पौडेलले राजनीतिक बन्दीका रूपमा पटकपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन्। २०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछिको आम निर्वाचनमा उनी गृह जिल्ला तनहुँबाट निर्वाचित भएका थिए। त्यसयता २०७४ सालमा बाहेक पौडेल तनहुँबाट
६ पटक सांसद निर्वाचित भएका छन्। पौडेल प्रतिनिधि सभाको सभामुख र उपप्रधानमन्त्री रहिसकेका छन्। उनी नेपाली कांग्रेसको पूर्व उपसभापति पनि हुन्।पाँच वर्षअघि भएको १३ औं महाधिवेशनमा पौडेल शेरबहादुर देउवासँग नेपाली कांग्रेसको सभापतिमा पराजित भएका थिए। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उनी एमालेका झलनाथ खनालसँग पराजित भएका थिए।