२९ लाख भन्दा बढी मूल्यको अवैध सामान बरामद

सिरहा,१४ पुस । सिरहाको विभिन्न ठाउँबाट २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो ।

सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाएर राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ । यस्तै, त्यही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाएर राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ ।

सशस्त्र प्रहरीले त्यही ठाउँकै मेनहा बस्ने ब्रह्मदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको धुलो र त्यही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलोसमेत बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयबासिन्दाले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा क्षति पुगेको छ ।

प्रतिक्रिया