काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । उनी बालुवाटारमा जारी बैठकबाट बाहिरिएका हुन् । बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताका अनुसार उनी कुनै पनि सहमति नगरी बैठकबाट निस्किएका हुन् ।
“कुनै पनि सहमति नभईकन उहाँ बैठकबाट निस्किनुभयो । सहमति गर्ने मुड उहाँमा देखिएन,” ती नेताले भने । त्यैगरी बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बाहिरिएका छन् ।
सरकार निर्माणका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ । त्यसअघि नै दलहरू सहमतिमा पुग्नुपर्ने बाध्यता छ । गठबन्धनभित्र सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको बताइन्छ । तर, कांग्रेस वा माओवादी कुन दलले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन । दलहरूको आ–आफ्नै दाबी छ ।