
२०७९ पुष ६ गते बुधवार

बिजौरी । मंगलबार विहान घोराही—तुलसीपुर चारलेन सडक निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्शन प्रालिका प्रतिनिधि तथा साइट इन्चार्ज इन्जिनियर शेखर शर्मालाई फोन गर्दा सुरुको दुई तीन कलमा घण्टी गयो । तर निरन्तर कल गरिरहंदा उनको फोनमा सम्पर्क हुन सकेन भन्ने जवाफ आइरह्यो ।
चारलेन सडक स्तरोन्नती परीयोजनाका कन्सल्टेन्ट इश्वर अमागाइको पनि ठ्याक्कै त्यस्तै भो, अनि फोन निर्माण कम्पनीका भविकृष्ण श्रेष्ठलाई गर्यौ । पटक पटक फोन गर्दा पनि उनको फोन सम्पर्क हुन सकेन । हामीले फेरी फोन गर्यौ, चारलेन परीयोजनाको कार्यालय लमहीका प्रमुख डिइ आशिष थापामगरलाई । उनको फोन पनि पटक पटक प्रयासमा पनि उठ्न सकेन । निर्माण कम्पनी, परीयोजना कार्यालय र कन्सल्टेन्ट कसैले पनि फोन उठाउन चाहंदैनन् भने के बन्ला यो अवस्थाले चारलेन ? नागरीकको यो आक्रोसलाई कसले सम्बोधन गर्ने ?
एक वर्षमा काम सम्पन्न गर्ने वाचासहित दाङ आएका चारलेन सडक निर्माण कम्पनी भारतको तथ्य इन्जिनियरीङ एण्ड इन्फा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रम्हदेव फेरी कहिल्यै आएनन् । उनी दाङ आएर प्रमुख जिल्ला अधिकारी, पत्रकार तथा राजनीतिक दलका सामु वाचा गरेको पनि करीव दुई बर्ष पुग्न थालिसकेको छ । तर निर्माण कम्पनीलाई कारवाहि गर्नु र नयाँ प्रक्रियामा जानुको साटो सरकारले उही कम्पनीलाई बिना आधार पटक पटक म्याद थप्दै आएको छ ।
सडकमा काम गर्न होइन, सम्पर्कमै छैनन्, तथ्य इन्जिनियरीङले खटाएका पेटि ठेकेदारका प्रतिनिधिहरु । सडकमा दिनदिनै भ्वाङ बढिरहेका छन् । जुम्ला—कालिकोटको भन्दा धराप एवं जोखिमपूर्ण यातायात छ, घोराही तुलसीपुरको । दिनदिनै दुर्घटना भएको भयै छन् । चारलेन बनाउने भनेर सडक कटिङ गरी भत्काउन थालेपछि यसबीचमा कम्तिमा २८ नागरीकहरुको यहि सडकमा दुर्घटनामा परेर दुःखद निधन भैसकेको छ । सयौं सवारीसाधन कामै नलाग्ने गरी क्षति भएका छन् तर पनि यसमा सरकारको कुनै उपस्थिति देखिन सकेन ।
भारतीय प्रधानमन्त्रीले नेपालका हरेक क्षेत्रको यातायात दयनिय भएको भन्दै सडक स्तरोन्नतीको अनुदान नेपाल प्रमणमा घोषणा गरे । तर त्यसमा पछि कार्यविधि बनाइयो, भारतीय बैंकले लगानी गर्ने, भारतीय कम्पनीलाइ ठेक्का दिने र भारतमा निर्मित निर्माण औजारको तोकिएको हिस्सामा प्रयोग हुने । त्यहि अनुरुप भारतीय ठेकेदारलाई काम दिन ग्लोवल टेण्डर आहुवान सडक विभागले गर्यो । ठेक्का पर्यो । अनि घोराही—तुलसीपुर चारलेन सडक निर्माण गर्न एउटा परीयोजना पनि बनायो नेपाल सरकार सडक विभागले ।
त्यसैको माताहतमा लमहीमा चारलेन सडक परीयोजनाको कार्यालय पनि स्थापना भो । तर सो कार्यालय काममा गतिशिलता दिनका लागि बेखर छ । काम नगरे कारवाहि सम्मको हैसियतमा पनि छैन लमहीको कार्यालय अनि घोराहीको कन्सल्टेन्ट परियोजना ।
चारलेन भनेर सडक नभत्काउँदासम्म जसोतसो घोराही तुलसीपुर सार्वजनिक यातायात ५५ मिनेटमा क्रस हुन्थ्यो । निजि सवारी साधनहरु बढिमा आधा घण्टामा आवतजावत हुन्थे । तर जब चारलेन परीयोजना सुरु भयो, त्यसपछि भत्काउने काम मात्रै भयो । २३ किमि दुरीको यात्रामा अहिले कम्तिमा डेढ घण्टासम्म लाग्न थालेको छ । यो क्रम अझै बढिरहेको छ ।
चार बर्ष पुग्न थालेको छ, २८ किमि सडक चारलेनको काम सुरु भएको । त्यो पनि सवै स्थानमा चारलेन होइन । भारतको तथ्य इन्जिनियरीङले १ करोड २१ लाख अमेरीकि डलरमा ठेक्का लिएको सडक स्तरोन्नतीको काम ८ प्रतिशत मात्रै प्रगति भएको कन्सल्टेन्टको कार्यालय र परीयोजनाको कार्यालयले पटक पटक बताउँदै आएका छन् । तर पछिल्लो समयमा सडकमा निर्माण कम्पनीको कुनै स्थानमा पनि उपस्थिति छैन । पेटि ठेकेदार फेरेपछि काम होला भन्ने नागरीकको आशा दियो, तर जुन जोगी आएपनि कानै चिरेका । काम झनै ठप्प भयो । पेटि ठेकेदार श्रेष्ठ कन्सट्रक्शनका प्रोप्राइटरले भर्खरै सम्पन्न संघ र प्रदेश सांसदहरुसँग पनि दुई सातामै देखिने गरी कामको प्रगति हुने लिखित प्रतिवद्धता पनि जनाए । तर प्रतिवद्धता गराउने सांसदहरु राजधानी गएसँगै निर्माण कम्पनीका प्रतिनिधिहरु पनि काठमाडौं लागे । लिखित सहमति गरेको एक महिना बितिसकेको छ, तर पनि सडक स्तरोन्नतीको काम सुरु हुन सकेको छैन ।
अब निर्माण कम्पनीको पछिल्लो पटक थपिएको म्याद पनि २०८० असार मसान्तसम्म मात्रै छ । त्यसका लागि अव ६ महिना मात्रै बाँकी छ । चार बर्षमा ८ प्रतिशत भौतिक प्रगति भएको परीयोजना कार्यालयले तथ्यांक सार्वजनिक गरेको अवस्थामा कसरी बन्ला चारलेन सडक तेस्रो पटक म्याद थप भएको समयमा ? आम जिल्लाबासीहरुको यहि आक्रोश छ । साभार;| साक्षी खबर साप्ताहिक |