११ अर्व १६ करोड ३० लाख बराबरको बिद्युत भारत निर्र्यात |

काठमाण्डौ, ५ पुस । यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा दुईवटा जलविद्युत् केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गएको १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट रहेको छ ।

प्राधिकरणले गएको आर्थिक वर्ष २०७८÷७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । चालु आव २०७९÷८० को ३ पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ । चिसो बढ्दा काठमाण्डौ उपत्यकालगायतको विद्युत् माग बढेको तर खोलानालामा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्नुभयो । घिसिङले वैशाख अन्तिम÷जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात सुरु हुने बताउनुभयो । ‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत् आयात सुरु भएको छ, विद्युत् आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ, तर विद्युत् आयात परिमाण निर्यातभन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘विगतका वर्षहरुमा विद्युत् निर्यात परिमाण आयातभन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुने छ, विद्युत् निर्यात र त्यसबाट प्राप्त हुने रकम दुवैमा हामी खुद निर्यातकर्ता बन्नेछौँ।’

प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री र खरिद गर्दै आएको छ । ‘आईएक्सबाट मात्र खरिद गर्ने वा उत्पादकहरुसँग छोटो अवधिको विद्युत् खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’,उहाँले उल्लेख गर्नुभयो । ‘यसका लागि बजार अध्ययन गरिरहेका छौँ ।’ आईएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिक्रिया