२०७९ कार्तिक २३ गते बुधवार
बिजौरी । निर्वाचन नजिकिंदै गर्दा पटक पटक म्याद सकिएर फेरी म्याद थप भएको दाङको चारलेन सडक ओझेलमै छ । दिनदिनै दुर्घटना व्यहोरी रहेको यो सडक कहिले स्तरोन्नती हुने भन्ने विषय निकै चुनौतिपूर्ण बनेको छ ।
खासमा चारलेन सडकको ठेक्कामा राजनीतिक संलग्नता र हस्तक्षेप नभएको भए जसले ठेक्का पाएको थियो उही कम्पनी यहाँ आएर काम गर्ने थियो । भारत सरकारको अनुदानमै निर्माण सम्पन्न हुने भनिएको योजनामा नेपाली पेटि ठेकेदारहरुले र्याल चुहाउनु पर्ने थिएन । तर चुहाए । काम भएन । भारतको ख्याती कमाएको निर्माण कम्पनी तथ्य इन्जिनियरीङको पनि वदनाम भयो ।
भारतको मुम्वैस्थित तथ्य इन्जिनियरीङ एण्ड इन्फास्ट्रक्चर प्रोजेक्टले ग्लोवल टेण्डरमा काम गर्ने अवसर पाएको थियो । तर कम्पनी नेपालमा काम गर्न आउदा यहाँका स्थानीय तहका राजनेताहरुले ठेक्का आफुहरुलाई दिन र त्यसवापत कमिसन लिन कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरे । ताकि ठेक्कामा जोडिएको नदीजन्य पदार्थ निशुल्क रुपमा स्थानीय सरकारले उपलव्ध गराउने ।
सोहि योजनामा काम भयो, तुलसीपुरका खोलानालाबाट चारलेनका नाममा धेरै परिणाममा नदीजन्य पदार्थ उठाइयो, सडक आसपासका रुखहरु कटान गरियो । पहाडै भत्काएर चारलेनका नाममा ढुंगा उत्खनन् गर्न दिइयो । स्टोर समेत गरियो । तर चारलेन सडक विवादको भुमरीमा तानिएको छ ।
खसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा हरेक विकास क्षेत्रमा एउटा गौरवको योजनालाई अनुदानको प्रतिबद्धता व्यक्त गरेका थिए । केही ढिलो गरी लमही—घोराही—तुलसीपुर—कपुरकोटसम्म चारलेन सडक बनाउने । तर दाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेताहरुले त्यसको यथार्थ लविङ गर्न सकेनन् । छलकपट गरेर लमहीबाट सुरु हुने चारलेनलाई कुइरेपानीबाट गर्ने भनियो । त्यसमा पनि केही खण्डमा चारलेन र केही खण्डमा दुईलेनको सम्झौता भयो । यति विघ्न खराब निर्णय हुँदा यहाँका राजनेताहरु किन मौन रहे ? आम नागरिकहरुको यो प्रश्न हो । सडक खुम्चिरहँदा एमालेका अध्यक्ष केपि ओली सरकारका प्रधानमन्त्री थिए ।
जिल्लामा एउटा गौरवको योजना हो चारलेन सडक । तर यही सडकमा ठूलो बेइमानी भएको छ । पहिलो चरणमा पेटि ठेक्का लिने अष्ठ भैरव कम्पनीले लियो । तर काम हुँदाहुँदै आर्थिक अनियमितताको वेइमानी भयो । कोरोना सुरु हुँदै गर्दा सडक निर्माणको काम रोकियो, अझैसम्म पनि चल्न सकेको छैन । काटिएका रुख र संकलन गरिएका नदीजन्य पदार्थ सोनापुर सिमेन्टको यार्डमा थन्किएका छन् । खोइ रुखको राजश्व, खोइ नदिजन्य पदार्थको राजश्व ? । सडकमा पर्खाल निर्माण गर्दा लगेको सिमेन्टको पैसा अष्टभैरवले नतिरेपछि सोनापुर सिमेन्टले यार्डमा ताला लगाएको छ । ताला खोल्ने र हिसाव किताव गर्ने हैसियत न चारलेन परीयोजनासँग छ, नत पछिल्लो समयमा काम थाल्ने अठोट गरेको निर्माण कम्पनीका अधिकारीहरुसँग ।
जुन पार्टीको एक्सेसमा चारलेन पेटि ठेक्का यहिँकै नेताका पुत्रलाई दिइयो, अहिले उहि पार्टीका नेता शंकर पोख्रेलले चारलेन सडक आफुहरुले दुई बर्षमै निर्माण सम्पन्न गर्ने उद्घोष गरेका छन् । अघिल्लो आफ्नै सरकारमा ठेक्का सम्झौता भएको चारलेनको भौतिक प्रगति किन दश प्रतिशत माथि उक्लन सकेन ? एमाले बोल्न चाहेको छैन ।
चारलेन परीयोजनाका कन्सल्टेन्ट कम्पनीका आधिकारी इश्वर अमागाईले श्रेष्ठ कन्सट्रक्शनलेनै काम गर्ने सहमति भएको बताए । काठमाडौंमा सडक विभाग, चारलेन परीयोजनाका प्रमुख तथा कन्सल्टेन्ट र निर्माण कम्पनीबीच बुधबार भएको छलफलमा नोभेम्वर ६ तारिकदेखि काम गर्ने सहमति भएको हो । तर ८ तारिकसम्म पनि काम सुरु हुन सकेको छैन । परीयोजनाको लमहीस्थित कार्यालयमा कामकाजको जिम्मेवारी सहित सुरुवा भएर आउने भनिएका डिइ आसिस थापामगर सरुवा भएको दुई महिनासम्म पनि कार्यालय आइपुगेका छैनन् । यसले यो निर्माण कम्पनीबाट पनि काम हुने अवस्था रहेको छैन ।
परीयोजनाका विषयमा बुझ्दै छुः परीयोजना प्रमुख थापामगर
यसैबीच परीयोजना प्रमुख आशिष थापा मगर सरुवा भएर यहाँ तोकिए पनि दुई महिनासम्म उनको उपस्थिति छैन । फोन सम्पर्कमा उनले चारलेनको समस्याका विषयमा आफुले बुझिरहेको बताए । स्वास्थ्य समस्याका कारण सरुवा भएको स्थानमा आफु आउन नसके पनि कन्सल्टेन्टलाई आधिकारिक उपस्थिति मान्न पनि उनले आग्रह गरे । यो अवस्थाले चारलेनमा नेताहरुको कुनै अर्थपूर्ण चासो देखिएको छैन । गुमराहमा परेको छ चारलेन सडक