आयुर्वेद अस्पताल बिजौरीमा स्वर्णप्रासन् उपचार लिने बालबालिकाको घुइचो|

बिजौरी । पछिल्लो समयमा अस्पतालले दिन सक्ने सेवाहरु विविधीकरण गर्दै बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले स्वर्ण प्राशन विधिबाट उपचार सेवा सुरु गरेको छ । दोस्रो पटक सुरु भएको यो सेवा लिन मंगलबार विहानैदेखि बालवालिकाहरु लिएर अभिभावक लाममा लागेका थिए ।

मंगलबार ८ सय ५१ जना बालवालिकाले यो सेवा लिएको अस्पतालका चिकित्सक डा. मदन भण्डारीले जानकारी दिएका छन् । अघिल्लो पटक एक सय जना बालवालिकाले मात्र सेवा लिएका थिए । नयाँ प्रविधिको सेवा लिन बालवालिकाहरुलाई लिएर आउने अभिभावकहरुको यो पटक अत्यधिक सहभागिता रहेको अस्पतालले जनाएको छ ।

जन्मेको एक महिनादेखि सोह्र वर्षसम्मका सबै बालवालिकाहरु यो सेवा लिन सक्ने छन् । यसका लागि एउटा नियमित कार्ड बनाउने र बढीमा दश रुपैयासम्म शुल्क लिन सकिने प्रादेशिक चिकित्सालय विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतले जानकारी दिए । अर्को सेवा कार्तिक २८ गते पुष्य नक्षत्रका अवसरमा प्रदान गरिने अस्पतालले जनाएको छ ।

बालरोग विशेषज्ञ डा. हरिशंकर चौधरीले बच्चाहरुलाई पनि आयुर्वेद पद्धतिबाट सेवा दिने जानकारी दिएका छन् । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ साइतमा स्वर्ण प्राशन दिने/लिने गरिन्छ । यो उपचार बच्चाका लागि लाभदायक हुने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सककाअनुसार स्वर्ण प्राशन बच्चाहरूका लागि आयुर्वेदको वरदान हो । उनीहरुलाई बलियो र बुद्धिमानी बनाउनको लागि गर्नुपर्ने कृत्य हो यो । जब घरमा बच्चा जन्मिन्छ, आमाबुबाको खुशीको कुनै सीमा हुँदैन । यो खुशीको अवसरमा सम्पूर्ण परिवार र यहाँसम्म कि आफन्तहरु समेत खुशी मनाउँछन् । यस्तो स्थितिमा आमा बाबुले बच्चाको राम्रो स्वास्थ्यका लागि र रोगहरुबाट बचाउनका लागि केही प्राचीन संस्कारहरु अपनाउँछन् । ताकि बच्चा स्वस्थ रहन्छ र रोगहरुसँग लड्नका लागि सक्षम हुन्छ ।

प्राचीन संस्कारमध्ये एक स्वर्ण प्राशन पनि हो । यो सनातन धर्मको १६ संस्कार मध्ये एक हो । स्वर्ण प्राशन संस्कार आयुर्वेदिक चिकित्साको विरासत हो, जसले बच्चाहरुमा हुने मौसमी रोगहरुबाट बचाउँछ । यसले बच्चाहरूको समग्र स्वास्थ्यमा भूमिका खेल्छ ।

डा. चौधरीकाअनुसार स्वर्ण प्राशन संस्कार जडिबुटी जस्तैः मह, अश्वगंधा, शंखपुष्पी, वाचा आदिलाई सुनसँग मिसाएर तयार पारिएको रसायन हो । जुन पुष्य नक्षत्रको शुभ साइतमा लिने गरिन्छ । स्वर्ण प्राशन संस्कार बच्चाहरूको शारीरिक र मानसिक गतिमा सुधार ल्याउने संस्कार हो । यो धेरै प्रभावकारी छ र प्रतिरक्षा बढाउने खालको पनि रहेको बताइन्छ ।

प्रतिक्रिया