तुलसीपुर, २४ बैशाख । तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले पक्राउ परेका पत्रकार एग्गे बहादुर बुढा मगरलाई तत्काल रिहाइ गर्न माग गर्नुभएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले बुढालाई पक्राउ गरेपछि मेयर पाण्डेले यस्तो आग्रह गर्नुभएको हो । छलफल र संवादका माध्यमबाट वास्तविक केहो सत्यतथ्य पत्ता लगाएर टुङ्ग्याउनुपर्नेमा थुनेर कारबाही प्रकृया अघि बढाउनु उचित नभएको भन्दै मेयर पाण्डेले विनासर्त रिहाई गर्न स्थानीय प्रशासनलाई माग गर्नु भएको हो ।
‘सामाजिक संजालमा आएको विषयलाई ठूलो बनाउनु हुँदैन । निर्वाचनको मुखमै स्वतन्त्रपूर्वक धाँदलिरहित तवरले रिपोर्टीङ गर्ने पत्रकारलाई प्रहरीले छोड्नुपर्छ । समाजिक संजालमा लेखेकै भरमा लिएर थुन्ने हो भने जेलमै अटाउँदैनन् । त्यसकारण के लेख्ने के लेख्न नपाउने भन्ने विषयमा स्पष्ट कानुन बनाएर यसको निरुपण गर्नुपर्छ ।’ मेयर पाण्डले भन्नुभएको छ ।
बुढाले दाङ आउन लागेका पुष्पकमल दहाल प्रचण्डलाई जुत्ता हान्छु भन्दै समाजिक संजाल फेसवुकमा लेखेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसको पुष्टि प्रहरीले पनि गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले सोधपुछका लागि हिरासतमा राखेको डिएसपी श्यामु अर्यालले बताउनुभयो ।