नेपालका विभिन्न ठाउँमा जीपलाइन सञ्चालनमा ल्याएसँगै पहिलो पटक दाङको छिल्लीकोटमा सहासिक खेल जीपलाइन सञ्चालनमा ल्याउन थालिएको छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक शिव श्रेष्ठकाअनुसार एक करोड दश लाखको लागतमा जीपलाइन बनाउन थालिएको हो । जीपलाइन निर्माण गर्नका लागि वन मन्त्रालयबाट पूर्व स्वीकृत ल्याउनुपर्ने भएकाले एक हप्ताभित्रै कानुनी प्रक्रिया पूरा भई निर्माणको काम शुरु गरिने उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको भूल्के सामुदायिक वनसँग जीपलाइन सञ्चालनका लागि दश वर्षे सम्झौता गरिएको छ । सम्झौताअनुसार कम्पनीले प्रतिवर्ष प्रतिहेक्टर ३५ सय कर तिनुपर्नेछ । निर्माण कम्पनीले भने जीपलाइन क्षेत्रमा दुई कठ्ठा जग्गा मात्रै प्रयोग हुने बताएको छ ।
जीपलाइन कालिका मन्दिरबाट सुरु हुने र भूल्के सामुदायिक वनको चोरकाटे भेरी खोरमा ल्याण्डिङ हुने गरी निर्माण गर्न थालिएको छ । करिब १२ सय मिटरको दुरीमा रहनेछ । निर्माण कम्पनीले उक्त जीपलाइन नेपालकै सबैभन्दा लामो दुरीको दाबी गरेको छ ।
निर्माण शुरु गरेको तीन महिनाभित्रै सञ्चालनमा ल्याइने सञ्चालक श्रेष्ठले बताए । चैते दशैमा त्यस क्षेत्रमा मेला लाग्ने भएकाले त्यसअघि नै जीपलाइन सञ्चालनमा ल्याइने बताइएको छ ।
जीपलाइनमा चढे बापत् स्थानीय मन्दिर व्यवस्थापन, विकासका लागि प्रतिव्यक्ति एक सय छुट्याउने सम्झौता गरिएको छ । सञ्चालक शिव श्रेष्ठकाअनुसार त्यहाँ कम्पनीले जीपलाइन निर्माणसंगै रिसोर्ट र मन्दिर क्षेत्रमा पार्क समेत निर्माणको लक्ष्य राखेको छ ।
स्थानीय परवीर पुनले छिल्लीकोटको ऐतिहासिक, धार्मिक, जैविक क्षेत्रको प्रसार प्रचारका साथै जीपलाइन सञ्चालनले पर्यटकीय क्षेत्रकारुपमा विकास गर्नका लागि थप टेवा पु¥याउँने बताए । छिल्लीकोटमा पर्यटक आकर्षणका लागि लुम्बनी प्रदेश सरकारको सहयोगमा कालिका मालिका मन्दिरको जीर्णोद्वार, तुलसीपुर उपमहानगरपालिकाले भ्यू टावर निर्माण गरेको छ ।
त्यसैगरी मल्लागिरी होमस्टे समेत सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्रसम्मका लागि बिजौरी, हामिडे, स्यालापानी हुँदै छिल्लीकोट पुग्ने पर्यटकीय मार्ग कालोपत्रेको काम समेत अघि बढेको छ ।