तुलसीपुर, ७ पुस । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई केन्द्रिय कमिटिको सदस्यमा मनोनित गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले दाङबाट घनश्याम पाण्डे, टोपेन्द्र केसी, छविलाल वली, शोभाराम बस्नेत लगाएतलाई मनोनित गर्ने निर्णय गरेको हो ।
ओली समूह बैठकले पछि १९७ थप गर्ने गरी साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय विस्तार गरेको छ । बैठकले २०७८ मंसीर २ मा महाधिवेशन गर्ने निर्णय गरेको छ भने पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय समेत ओली समुहले गरेको छ । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि पाटी संकटमा परेको छ । आजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधब कुमार नेपाल पक्षका समुहले पनि केन्द्रिय कमिटिको बैठक बोलाएका छन् ।