कक्षा १२ को परिक्षामा दाङबाट ९ हजार बढी परिक्षार्थी सहभागी हुने।

दाङ, ८ मंसिर । भोलिदेखि शुरु हुन लागेको कक्षा १२ को परिक्षामा दाङबाट झण्डै १० हजार परिक्षार्थी सहभागि हुने भएका छन् । कक्षा १२ को परिक्षामा दश वटै पालिकाबाट ९ हजार ९४१ जना परिक्षार्थी सहभागि हुन लागेका हुन् । जसमा रेगुलरबाट ७ हजार ८३० र आंशिकतर्फ २ हजार १११ सहभागि हुन लागेको राष्ट्रिय परिक्षाबोर्ड घोराहीका शाखा अधिकृत रामजलम चौधरीले जानकारी दिनुभयो । 

कोरोना कहरका कारण यसवर्ष जिल्लामा १२ कक्षासम्म संचालनमा रहेका विद्यालय नै परिक्षा केन्द्रका रुपमा संचालन हुने उहाँको भनाई छ । जिल्लामा ६७ होम सेन्टरमार्फत परिक्षा संचालन हुने भएको छ ।  यसैबिच परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले विद्यार्थीलाई आग्रह गरेको छ । सबै  परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता मापदण्ड कडाइपूर्वक पालना हुने भएकाले ढुक्क हुन अपिल छ । 

परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड सङ्क्रमण पुष्टि भएर परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएमा फेरि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको शिक्षा विज्ञान प्रविधिमन्त्री गिरीराजमणी पोखरलले बताउनुभयो । परीक्षा केन्द्रमा आउँदा, जाँदा र घरमै रहँदा पनि आवश्यक सचेतना अपनाउन सरकारले आग्रह गरेको छ । यसैबिच सरकारले सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । हेल्थ डेस्कमा हात धुने र ज्वरो नाप्ने व्यवस्था हुनेछ ।

विद्यार्थी, निरीक्षक र परीक्षा केन्द्रमा रहने कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्नेछ । एउटा कोठामा बढीमा २० जना परीक्षार्थी मात्र राख्न पाइनेछ । विद्यार्थीलाई दुई, दुई मिटरको दूरीमा मात्रै राख्नुपर्नेछ ।  कुनै परीक्षार्थीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा छुट्टै कोठाको व्यवस्था गर्नुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । 

कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन बोर्डले निर्देशन दिएको छ ।  भोलिदेखि सुरु हुने परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बोर्डले जनाएको छ ।।

प्रतिक्रिया