काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अनौपचारिकरुपमा पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहभागी छन् ।
आजको बैठकमा पनि अर्का अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी छैनन् । ९ सदस्यीय सचिवालयमा प्रचण्ड बहुमतमा छन् भने ओली अल्पमतमा छन् । पार्टीका सबै संरचनामा अल्पमतमा परेपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठक बोलाउन मानिरहेका छैनन् ।
आजको बैठकमा पार्टी एकताका लागि अन्तिम प्रयास गर्नेगरी एजेण्डा तय गर्ने एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए । बैठकपछि प्रचण्डसहितका नेताहरु ओलीलाई भेट्न बालुवाटार जानेछन् । बालुवाटार पुगेर अोलीलाई बैठकका लागि आग्रह गरिने ती सचिवालय सदस्यको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावनी दिँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेका छन् ।
नेकपामा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको मात्र नभएर कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले विवाद उत्कर्षमा छ ।