तुलसिपुर, २२ कार्तिक दाङमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी २० बर्षीया सुत्केरीको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो । संक्रमित ती महिलाको बच्चा जन्मिसकेपछि कोरोनाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन।
उनी कात्तिक १६ गते प्रसुती सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन । १७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । १८ गते आशंका लागेर १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको स्वास्थ्यमा सुधार नआएपछि शुक्रवार दिउँसो ३ बजेर २० मिनेट जाँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै यसअघि विहिबार मात्रै लमही नगरपालिका वडा नं. १० निवासी ६४ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा विहीवार राति ९ बजे मृत्यु भएको थियो ।