बाँके र सुर्खेतमा एक-एक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका-१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो ।
कैलालीका पुरक्ष कार्तिक १४ गते प्रि-आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि कोभिड वार्डमा सारेर उपचार भइरहेकोमा शनिबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी सुर्खेतका पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको थियो । अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीका अनुसार उनलाई दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइ भनेर उपचार गरिएको थियो । औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो ।तीन दिन अगाडि मात्रै पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पुर्याइएको थियो ।