सल्यान, १९ असोज। सल्यानमा २८ दिने बालकलाई बेवारिसे अवस्थामा जंगलमा फाल्ने आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालककी आमा शारदा नगपालिका वडा नम्बर ३ वर्ष ३५ की शान्ता परियार र सोही नगरपालिका वडा नम्बर २ पानिखोलाका वर्ष ३८ का दान बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज दिउँसो विभिन्न स्थनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। तर उनीहरु श्रीमान श्रीमति नभएको र पुरुष विवाहित तथा महिलाको सम्बन्ध बिच्छेद भई सकेको बुझिएको छ ।
गत वर्ष कात्तिकमा रोजगारीको शिलसिलामा भारतको उत्तराखंडमासँगै गएका यी दुवैजना दशैं मान्न घर सङ्गै फर्किएका थिए। गाडडाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको एक कवारेन्टाइनमा ३ दिन बसेका थिए । हिजो आइतबार सल्यानको श्रीनगर घर फर्कदा उनीहरुले बच्चा नलैजाने सल्लाह भएबोजिम बाटैमा पर्ने जंगलमा बेलुका ६ बजेतिर फालेका थिए ।
उक्त बालकको आज विहान साढे ६ बजे शारदा नगरपालिका वडा नम्बर ३ घोरुलोटेको जंगलमा बेवारिसे अवस्थामा स्थानीले भेटेका थिए । त्यसपछि स्थनीयले खबर गरेपश्चात प्रहरीले बालकको उद्दार गरेको थियो । अहिले बालकलाई जिल्ला अस्पतालमा राखिएको र अवस्था सामान्य रहेको जनाइएको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चा भएकाले जंगलमा फालेको बयान उनीहरुले दिएको प्रहरीले जनाएको छ ।