दाङ राजधानी’को प्रस्ताव पारित गर्न नेकपाको ह्वीप जारी /

नेकपाको प्रदेश ५ संसदीय दलले सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक भुमेश्वर ढकालले यस्तो निर्णय गरिएको जानकारी दिए। ‘सबै क्षेत्रका माननीयहरुले आ-आफ्ना कुरा राख्नुभो’ प्रमुख सचेतक ढकालले भने, ‘निर्णय भने प्रदेश सरकारले गरेको प्रस्तावमै मतदान गर्ने सर्वसहमती भएको छ।’ 

उनले मतदानका लागि नेकपाले सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा मतदानका लागि ह्वीप लगाउने बताए। विगतको अभ्यासमा पनि यस्तो अवस्थामा पार्टीले ह्वीप लगाउने गरेको छ’ ढकालले भने, ‘राजधानीको नाम र केन्द्रको बिषयमा पनि ह्वीप जारी हुन्छ।’

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शुक्रबार प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभावमा पेश गरेका थिए।मुख्य गरेर साविकको लुम्बिनी अञ्चलका सांसदहरुले सरकारले राखेको प्रस्तावभन्दा फरक मत राखेको भएपनि अन्ततः सरकारकै प्रस्तावमा सहमती जुटेको बताए।

सांसदहरुको कुरा सुनेपछि मुख्यमन्त्री शंकर पोखरेलले सरकारले अघि सारेको प्रस्तावको पक्षमा लाग्नका लागि निर्देशन दिएका थिए। मुख्यमन्त्रीले अहिले पार्टी बलियो भएको अवस्थामा सरकारको कामलाई सहयोग गर्नका लागि भनेको मुख्यमन्त्रीको भनाइलाई उद्धृत गर्दै सचेतक ढकालले बताए।

आइतबार सबै दलसँग यस बिषयमा छलफल गरेर साझा सहमती बनाउने प्रयास गरिने उनले बताए। मुख्यमन्त्री शंकर पोखरेल भने उक्त सर्वदलीय बैठकमा सहभागी हुने छैनन्। मुख्यमन्त्री पोखरेल संसदीय दलको बैठकपछि काठमाडौं लागेका छन्।

प्रतिक्रिया