
बुटवल, ९ असोज । मृत्युको मुखमा पुगेका एक बेबारिसे मान्छेलाई प्रहरीले समयमै उद्धार गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित गोरकट्टाको तिनाउ नदीमा निर्माणाधीन पुलबाट १४ फिट तल खसी पुलको पिल्लरमा अड्किएको अवस्थामा एक बेवारिसे मानिसको उद्धार गरेको हो ।
शुक्रबार बिहान ७ बजे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरको नेतृत्वमा इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरीक्षक रुम बहादुर केसी सहितको टोलीले उद्धार गरेको हो ।
निरन्तर परेको अविरल वर्षाले तिनाउ नदीको बहाव उच्च थियो, लामो समयदेखि निर्माणाधीन बनेको पुलबाट साईकल चलाएर आएका उनी खसेपछि टाउकोमा गम्भीर चोट लागेको थियो । पुलबाट खसेर खोलामा नपरी पिल्लरमा अड्केकाे देखेपछि स्थानीयले खबर गरी प्रहरी त्यहाँ पुगेको थियो । अवस्था गम्भीर देखेपछि प्रहरीले डोरीको सहायताले त्यहाँबाट उनलाई निकालेको थियो ।
अन्दाजी ३४/३५ वर्षका ती पुरूष मधेसी वर्णका छन् । हालसम्म उनको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन । रातिको समयमा खसेको हुनसक्ने उनको टाउकोमा चोट लागेको कारण बोल्न सकेका छैनन् । त्यसकारण घटना र उनको नाम ठेगाना खुल्न सकेको छैन, डिएसपी राठौरले बताए ।
उद्धारपछि उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ भने उनी अझै खतरामुक्त भने भैसकेका छैनन् । मृत्युको मुखमा पुगेका उनको प्रहरीले समयमै उद्धा गरी अस्पताल पुर्याएकाले ज्यान बच्न सकेकाे हाे ।