रूसी राष्ट्रपति पुटिनले आफ्नो देशले कोरोनाभाइरस विरुद्धको खोप बनाएको दाबी

२७ साउन ,कोहलपुर बाँके।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले कोरोनाभाइरस विरुद्धको खोप बनाएको दाबी गरेका छन्।

मंगलबार राष्ट्रपति पुटिनले कोरोनाभाइरसविरुद्धको खोपलाई अनुमोदन गर्ने रूस पहिलो मुलुक भएको दाबी गरेको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ।

मस्कोका वैज्ञानिकहरूले मानिसहरूमा खोप परीक्षण गरेका थिए। परीक्षणको दुई महिना नबित्दै प्रमाणहरूलाई हेरेर राष्ट्रपति पुटिनले खोपलाई अनुमोदन गर्दै त्यसको स्वागत गरेका हुन्।राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमार्फत मस्को गामालेया इन्स्टिच्युटले बनाएको खोप सुरक्षित रहेको बताएका छन् । उक्त खोप आफ्नै छोरीलाई लगाइएको पनि उनले जानकारी दिए।

यसले प्रभावकारी रूपमै काम गर्ने र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। यसमा आवश्यक रहेका सम्पूर्ण जाँच पास गरिसकेको पुटिनले बताए ।

उनले आफ्नो राष्ट्रले छिट्टै धेरैभन्दा धेरै खोप उत्पादन गर्न थाल्नेसमेत बताएका हुन्।धेरैमा मानिसमा खोप दिनका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृति चाहिन्छ। सो स्वीकृति पाउन भने ‘फेज थ्री’ अर्थात् तेस्रो चरणमा हजारौं संक्रमितहरूमा परीक्षण गर्नुपर्ने हुन्छ।

स्वीकृती पाउन बित्तिकै सुरूमा रूसी स्वास्थ्यकर्मीहरूलाई खोप लिन अवसर दिइनेछ।

कोरोना भाइरसको महामारीविरूद्ध लड्न अहिलेसम्म एक सयभन्दा बढी खोपहरू बनाउने प्रयास भइरहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार चार खोपहरू भने अन्तिम चरण अर्थात् फेज थ्रीमा पुगेका छन्।

प्रतिक्रिया