
१६ साउन, कोहलपुर बाँके।
देश भर लकडाउन खुकुलो भएतापनि कोरोना भाइरस को संक्रमण भने दिनप्रति दिन बढ्दै गएको छ ।लकडाउन खुकुलो भएसंगै सरकारी कार्यालयहरु पनि संचालन मा आएका छन् र कोरोना भाइरस को संक्रमण पनि धेरै जसो सरकारी कार्यालयका कर्मचारीहरु मा देखा परेको छ।
यसै संगै वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ।उनले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
‘तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु,’ मेयर सरावगीले फेसबुकमा लेखेका छन्।
उनका राजनीतिक सल्लाहकार मुकेश दुवेदीका अनुसार, उनी चार दिनअघि काठमाडौं आएका थिए। बिहीबार बिहान उनको संक्रमण पुष्टि भएको हो। ‘उहाँले काठमाडौंमै परीक्षण गर्नुभएको हो,’ दुवेदीले सेतोपाटीसँग भने, ‘उहाँ अहिले काठमाडौंस्थित आफ्नै निवासमा हुनुहुन्छ। अहिले उहाँको अवस्था सामान्य छ।’सरावगीले आफ्नो फेसबुकमा वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको समेत बताएका छन्। उनले वीरगन्जमा संक्रमण नियन्त्रण गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।
उनले वीरगन्जमा संक्रमण रोक्न स्थानीय स्तरबाट मात्र सम्भव नरहेको भन्दै प्रदेश सरेकारले ठोस कदम लिनुपर्ने बताएका छन्।