
नेपालगन्ज । कतार च्यारेटी नेपाल र इस्लामिक रिलिफ नेपालको एक टोलीले बाँकेको राप्तीसोनारी गाउँपालिकाको क्वारेन्टाइनको अनुगमन गर्नुका साथै नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बाँके युनेस्को क्लबको टोलीसंगै बुधवार राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पुगेको कतार च्यारेटी नेपाल र इस्लामिक रिलिफ नेपालको सो टोलीले क्वारेन्टाइनको अवस्था बारे जानकारी लिनुका साथै स्थानीय सरकारसंग अन्तरक्रिया र सामाग्री हस्तान्तरण गरेको हो ।
कतार च्यारेटी नेपालका प्रोजेक्ट म्यानेजर इर्शाद शेष, इन्जिनियर आमिर फैसल र इस्लामिक रिलिफ नेपालका उमा नेपालको टोलीले राप्तीसोनारी गाउँपालिका ७ सररीको विद्यालयमा रहेको क्वारेन्टाइनमा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिनुका साथै स्टार्ट नेटवर्क युकेको सहयोगमा प्रदान गरिएको स्वास्थ्य सामाग्रीको उपयोगका बारेमा पनि सोधपुछ गर्नु भएको थियो ।
त्यसपछि सो टोलीले नरैनापुर गाउँपालिकामा पुगेर गाउँपालिकाका अध्यक्ष ईशितयाक अहमद शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुका साथै अन्तरक्रिया पनि गरेको थियो। सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले सामाग्रीको सुचि अध्यक्ष शाहलाई हस्तान्तरण गर्नु भयो भने क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले कार्यक्रम र सहयोग बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कतार च्यारेटी नेपालका प्रोजेक्ट म्यानेजर इर्शाद शेष, इन्जिनियर आमिर फैसल र इस्लामिक रिलिफ नेपालका उमा नेपालले स्टार्ट नेटवर्क युकेले प्रदान गरेको सहयोग बारे विस्तृत जानकारी गराउनु भएको थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष शाहले सबैको सहयोग र समन्वयले गर्दा नरैनापुरलाई कोरोना मुक्त बनाउन सफल भएको जनाउँदै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गर्नु भयो ।
उहाँले सडक र विद्युत आएपछि अब विद्यालय र स्वास्थ्य सेवामा सुधारका लागि सहयोग गर्न अनुरोध गर्नुभयो । सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, वित्त निर्देशक वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।
स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालद्वारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएका क्वारेन्टाइन व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुलाई हालै मात्र बाँके र बर्दियाका विभिन्न स्थानीय तहमा हस्तान्तरण गरिएको थियो