कांग्रेस बाँकेका नेता मल्ल पार्टीबाट निष्काशित

बाँके । नेपाली कांग्रेसले महासमिति सदस्य बाँकेका नेता महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । बुधबार बसेको कांग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पाँच वर्षका लागि मल्ललाई पार्टीबाट निष्कासन गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले मल्ललाई कारबाही गरिएको जानकारी दिनुभयो । पार्टीविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा अनुशासन समितिमा मल्लमाथि उजुरी परेको थियो ।

मल्ल कांग्रेस बाँकेको संगठन विभाग प्रमुख हुनुहुन्थ्यो। उहाँले गत वर्ष उक्त जिम्मेवारीबाट राजीनामा दिनुभएको थियो । यस्तै, बाँके पार्टी सभापति किरण कोइरालामाथि गत वर्ष भदौमा भएको आक्रमणमा सत्तारूढ दल नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति मल्लले दिएपछि उनीविरूद्ध अनुशासन समितिमा उजुरी परेको थियो ।

कांग्रेस जागरण अभियानका क्रममा खजुरा गाउँपालिका २ मा सभापति कोइरालामाथि आक्रमण हुँदा उहाँको हात भाँचिएको थियो । उक्त घटनामा नेकपाबाट निर्वाचित वडाध्यक्ष सुमन मल्ल जोडिनुभएको थियो । तर घटनामा वडाध्यक्ष मल्लको संलग्नता नरहेको भन्दै महेन्द्र अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया