काठमाडौं कार्तिक २० । स्वयम्भू पुराणका अनुसार प्राचीन कालमा काठमाडौं उपत्यका एउटा ठुलो ताल थियो । मञ्जुश्री बोधिसत्व चीनबाट नेपाल आएपछि चोभार नजिकैको पहाडलाई आफ्नो तरबार प्रयोग गरेर काटी उपत्यकामा भरिएको विशाल ताललाई बगाएर बस्नका लागि उपयुक्त ठाउँ बनाएको किम्मदन्ती छ । धेरै उर्वर माटो, खेतीयोग्य जमिन, बस्नको लागि उत्तम हावापानी, चारैतिरबाट ढाकिएको हरियो पहाड, लिच्छविवंशी र मल्लवंशी कालमा बनेका सुन्दर दरबार र मन्दिरहरूले काठमाण्डौंलाई सुन्दर तुल्याएको थियो । तर मन्दिरै मन्दिरको शहर भनेर चिनिने काठमाडौं उपत्यका अहिले प्रदूषित शहरको रुपमा परिणत भएको छ, धूलो र धूवाँले ढाकेको छ । करिब दुई दशकअघि काठमाडौं उपत्यकामा हरिया पहाडहरू, नीलो आकाश, सफा र शान्त शहर थियो तर अहिले तिनीहरूमाथि घुमेको स्थिर धूवाँका कारण खैरो र धुलाम्य देखिन्छ ।
बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण, पुराना सवारी साधन, भूकम्पले भत्काएका संरचना आदिले काठमाडौं शहर फोहरी र रोगी शहरमा परिवर्तन भएको छ । केन्द्रीय तथ्याङ्क विभागले २०२२ मा रेकर्ड गरेको तथ्याङ्क अनुसार काठमाडौंको जनघनत्व प्रति २ किमी २०,२८८ रहेको छ । यति धेरै जनसङ्ख्या बोकेको उपत्यकालाई समुन्द्री सतहबाट २००० देखि २८०० मिटरसम्मको अग्लो हिमालहरूले घेरेको छ । चारैतिर पहाड र हिमालले घेरेको हुनाले उपत्यकामा आएको हावाको गतिलाई यिनै पहाड र हिमालले रोक्ने गर्छ । जसले गर्दा भूकम्पले भत्काएका संरचनाहरुबाट निस्किको धूलो, उद्योग, कलकारखाना र पुराना सवारी साधनबाट निस्केका हानिकारक ग्यासहरू उपत्यकाभित्र लामो समयसम्म घुमिरहन्छ र त्यसले हाम्रो स्वास्थ्यलाई असर पारेको छ ।
काठमाडौं उपत्यका नेपालको राजधानी भएकोले देशैभरबाट राम्रो जीवन र अवसरहरूको आशामा मानिसहरुको घुइँचो लाग्ने गरेको छ । दिन प्रतिदिन यहाँको जनसङ्ख्या बढ्दो छ र प्रदूषणको मात्रा पनि बढ्दो छ । यसका साथै सन् २०१५ मा गएको महाभूकम्पले धेरै संरचना लाई ध्वस्त बनाएको थियो । ध्वस्त संरचनाले निम्त्याएको ठूलो मात्राको धूलोका कण हावामा उडेर दैनिक जनजीवनलाई आजसम्म पनि अस्तव्यस्त बनाएको छ ।
उपत्यकामा सञ्चालित इँटाभट्टाहरू वायु प्रदूषणको अर्को प्रमुख कारण हो । हाल काठमाडौं उपत्यकामा ११० वटा इँटाभट्टाहरू सञ्चालनमा छन् । यी इँटाभट्टाले पिएम २.५ (PM 2.5), पिएम १० (PM 10 ), कालो कार्बोन, साल्फर अक्साइड, कार्बन डाइअक्साइड आदि जस्ता हानिकारक ग्यासहरू उत्सर्जन गरिरहेका छन् । यसले गर्दा वायुको गुणस्तर खस्किँदै गएको छ र भट्टा नजिकै बसोबास गर्ने जनताको स्वास्थ्यमा प्रतिकूल असर परेको छ ।
काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढेको छ । ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा देशभर करिब ३ करोड ३३ लाख सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये बाग्मती अञ्चलमा मात्रै १ लाख १७ हजारभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । देशभर दर्ता भएका सवारी साधनमध्ये ३६ दशमलव ४ प्रतिशत वाग्मतीमा गुड्ने गरेका छन् र यिनै सवारी साधनको चापले ट्राफिक व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ ।
नयाँ सवारी साधन किन्ने क्रम पनि बढेको छ । सार्वजनिक सवारीसाधनको तुलनामा निजी सवारी साधनको चाप बढ्दै गएको छ । सार्वजनिक यातायातको व्यवस्थापन फितलो भएका कारण अधिकांश काठमाडौंका बासिन्दाले निजी सवारीसाधन किन्ने गरेका छन् । सवारी साधनबाट उत्सर्जन भएका हानिकारक ग्यासहरुले दिन प्रतिदिन हम्रो आयुलाई घटाइरहेको छ । डब्लुएचओको प्रतिवेदन अनुसार न्यून र मध्यम आय भएका देशहरूका जनता पुराना र डिजेलबाट चल्ने सवारी साधनबाट उत्पन्न भएको प्रदूषणबाट अत्यधिक पीडित छन् । यसको अतिरिक्त्त सडक विस्तारका लागि योजनाविहीन तरिकाले जथाभाववी सडक खन्ने, व्यस्त सडकको छेउमा निर्माण सामग्रीको अव्यवस्थित डम्पिङ, खाल्डाखुल्डीले भरिएका सडकमा निरन्तर दौडने पुराना इन्जिनका सवारीसाधनले काठमाण्डौंमा वायु प्रदुषण थपेको छ ।
पृथ्वीको बढ्दो तापक्रमले जमिनमा भएको आर्द्रतालाई सोस्ने गर्छ र माटोलाई सुख्का बनाउँछ जसको कारण वनस्पतिलाई थप ज्वलनशील बनाउँछ । सन् २०२१ मा नेपालको विभिन्न ठाउँमा भएको बन डढेलोले वतावरणलाई निकै प्रदुषित बनाएको थियो । उक्त वर्ष डढेलोले निम्त्याएको वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि काठमाण्डौं लगायतका देशका विभिन्न ठाउँमा शैक्षिक संस्था ४ दिनका लागि बन्द गरिएको थियो ।
हाल दक्षिणको छिमेकी देश भारतको हरियाणा र पञ्जाबमा किसानहरूले पराल जलाउँदा उत्पन्न भएको धूवाँले नेपालमा समेत वायु प्रदुषण भित्रिएको छ । भारतमा किसानहरूले ‘कम्बाइन हार्भेस्टर’ मेसिनको प्रयोग गर्ने गरेका छन् । यो मेसिनको प्रयोग गरेर धान काट्दा खेतमा झण्डै डेढ फिटको पराल बाँकी रहन्छ । भारतको पञ्जाब र हरियाणा दुवै राज्यमा खेतको परालमा आगो लगाए जरिवाना तिर्नुपर्ने व्यवस्था भए पनि त्यसको बेवास्ता गर्दै किसानहरूले आगो लगाउने गरेका छन् । लामो लामो पराललाई नष्ट गर्न भारतमा ‘सुपर स्ट्र म्यानेजमेन्ट सिस्टम’ मेसिनहरूको प्रयोग हुनेगरेको छ । यस्ता मेसिनले धान काट्दा बाँकी भएका पराललाई टुक्र्याउँछन् । तर त्यस्तो मेसिन प्रयोग गरेपछि खेतमा गहुँ छर्न अर्को मेसिन प्रयोग गर्नुपर्ने हुन्छ। ‘ह्याप्पी सिडर’ नामको मेसिनले खेत जोतेर गहुँ छर्ने काम गर्छ । उक्त मेसिन गहुँ छर्नबाहेक अन्य कुनै काममा प्रयोग हुँदैन। यसरी तीनवटा मेसिन प्रयोग गर्दा किसालाई खेती गर्न प्रतिकठ्ठा ७ हजार भारु लागत पर्छ । जसका कारण भारतीयहरू लागत बेहोर्नुभन्दा पराललाई खेतमा आगो लगाउने गरेका छन् । अहिले भारतबाट आइरहेको धूवाँ सहितको प्रदूषित हावा काठमाडौंका विभिन्न डाँडा काटेर आइरहेको छ, जसका कारण यस वर्ष पनि काठमाण्डौंको वायुप्रदूषण उच्च हुने सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकाको हावामा धेरै कार्सिनोजेनिक गुणहरू भएको प्रदूषकहरू जस्तै ब्याक कार्बन, कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन र सल्फर डाइअक्साइड आदि धेरै मात्रामा पाइन्छ जसले हाम्रो स्वास्थ्यमा असर गरेको छ । नेपालमा हरेक वर्ष ३५ हजार मानिस वायु प्रदूषकसँग सम्बन्धित रोगबाट मर्छन् । वायु प्रदूषणले बारम्बार ओस्टियोपोरोसिस, हृदयाघात, डिमेन्सिया र मृगौला रोग निम्त्याउँछ । यसबाहेक, काठमाडौं उपत्यकाको औशत आयु अन्य नेपाली क्षेत्रहरूको तुलनामा चार वर्ष कम रहेको अनुसन्धानले देखाएको छ।
सन् २०२० मा वातावरणीय कार्यसम्पादन सूचाङ्क (Environmental Performance index-EPI ) ले मापन गरेको नेपालको वायुको गुणस्तर १८० देशहरूमध्ये १७८ औं स्थानमा रहेको छ र एशियामा काठमाडौं सबैभन्दा प्रदूषित शहरहरूमध्ये एक हो । विज्ञान तथा प्रविधि मन्त्रालयले २०१२ मा राष्ट्रिय परिवेश वायु गुणस्तर (National Ambient Air Quality) सम्बन्धी निर्देशिका प्रकाशित गरेको थियो । उक्त निर्देशिकाले राखेको पिएम १० (PM 10) र पिएम २.५ (PM 2.5) को मापदण्ड १२० माइक्रो ग्राम प्रति घन मिटर (µg/m3) र ४० माइक्रो ग्राम प्रति घनमिटर (µg/m3) छ जुन विश्व स्वास्थ्य संगठनले राखेको मापदण्ड भन्दा २ गुणाले बढी छ । त्यति मात्र नभई विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार काठमाडौंमा पिएम २.५ (PM 2.5) को अधिकतम कन्सन्ट्रेसन १४० माइक्रो ग्राम प्रति घनमिटर (µg/m3) सम्म पुगेको छ जुन राष्ट्रिय परिवेश वायु गुणस्तर (National Ambient Air Quality) निर्देशिकामा राखिएको मापदण्डभन्दा १० गुणाले बढी छ ।[ रे न्युज डटकम बाट साभार ]