काठमाडौं । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ । मन्त्रालयका अनुसार प्रारम्भिक परीक्षणमा मेरियन बायोटेकद्वारा उत्पादित कफ सिरपको एउटा ब्याचमा इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको देखिएको हो । बालबालिकालाई चिकित्सकीय परामर्शबिना डोक–१ म्याक्स नामक सिरप खान दिइएको बताइएको छ। उनीहरूलाई दिइएको मात्रा पनि बालबालिकाको लागि निर्धारितभन्दा बढी थियो ।
द गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को भारतीय औषधि उत्पादन गर्ने कम्पनीको सम्बन्ध रहेको पाइएको केही सातापछि उज्बेकिस्तानले पनि उस्तै आरोप लगाएको हो।
भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्ना अधिकारीहरू डिसेम्बर २७ देखि “उज्बेकिस्तानको राष्ट्रिय औषधि नियामकसँग नियमित सम्पर्कमा रहेको“ जानकारी दिएको छ । स्वास्थ्य अधिकारीहरूले उत्तर प्रदेश राज्यको नोएडामा रहेको मेरियन बायोटेकको भौतिक संरचना तथा प्रणाली निरीक्षण गरेको विज्ञप्तिमा जनाइएको छ । “खोकीको औषधिका नमुनाहरू उत्पादन हुने ठाउँबाट लिइएको छ र परीक्षणको लागि क्षेत्रीय औषधि परीक्षण प्रयोगशाला, चण्डीगढ पठाइएको छ,“ थप भनिएको छ।
के भन्छ कम्पनी ?
यस विषयमा टिप्पणीको लागि बीबीसीले गरेको आग्रहमा मेरियन बायोटेकले अझै प्रतिक्रिया दिएको छैन । मेरियन बायोटेकका एक कार्यकारीलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले लेखेअनुसार कम्पनीले खोकीको औषधि उत्पादन अस्थायी रूपमा रोकेको छ । उनले उत्पादकमाथि सरकारले अनुसन्धान गरिरहेको र सोहीअनुरूप अन्य काम कारबाही अघि बढ्ने बताए ।
मेरियन बायोटेक भारतको राजधानी दिल्लीनजिकै नोएडामा अवस्थित छ । यस कम्पनीको वेबसाइट हाल चलेको छैन । तर उसको लिङ्क्डइन खातामा उक्त कम्पनी सन् १९९९ मा स्थापना भएको र त्यसले उत्पादन गर्ने औषधिहरू “मध्यएशियाली देशहरू, मध्य र ल्याटिन अमेरिका, दक्षिणपूर्वी एशियार अफ्रिकामा परिचित नाम“ भएको उल्लेख गरिएको छ ।
कत्रो छ भारतीय औषधिको बजार ?
विश्वमा खपत हुने एकतिहाइ औषधि भारतमा उत्पादन हुन्छ । तीमध्ये प्रायः “जनेरिक औषधि“को रूपमा बनाइन्छ । तीव्र गतिमा उन्नति गरेका केही औषधि कम्पनीहरू रहेको भारतलाई “विश्वको फार्मेसी“ समेत भनिन्छ । उसले विकासोन्मुख देशहरूमा सुलभ मूल्यमा औषधि आपूर्ति गर्छ ।
कसरी भयो मृत्यु ?
डिसेम्बर २७ मा सार्वजनिक उज्बेक मन्त्रालयको विज्ञप्तिमा डोक–१ म्याक्स ट्याब्लेट र सिरप दुवै स्वरूपमा सन् २०१२ देखि त्यहाँ बिक्री भइरहेको जनाइएको छ । “उपचार गर्न अस्पताल भर्ना हुनुअघि ती बालबालिकाले घरमै दुईदेखि सात दिन, दिनमा तीनदेखि चार पटक उक्त औषधि २.५ देखि ५ एमएलसम्म सेवन गरेको पाइयो । उक्त मात्रा बालबालिकाको लागि तय गरिएको औषधिको मापदण्डभन्दा बढी हो,“ मन्त्रालयले जनाएको छ। विज्ञप्तिमा कसको मृत्यु कहिले भएको हो भनेर चाहिँ स्पष्ट रूपमा लेखिएको छैन ।
बीबीसी मोनिटरिङले डिसेम्बर २६ मा गाजेटा डट यूडेडलाई उद्धृत गर्दै उज्बेक अधिकारीहरूले “भारतमा बनेको खोकीको औषधि खाँदा विगत दुई महिनामा मध्य समरकन्द क्षेत्रमा १५ बालबालिकाको मृत्यु भएको दाबी“बारे अनुसन्धान गरिरहेको बताएको थियो । सोही दिन पोड्रोब्नो डट यूजेड नामक समाचार साइटले २१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो।
तीमध्ये १५ जना तीन वर्षमुनिका भएको र उनीहरूको मिर्गौलामा गम्भीर असर परेका कारण उपचार गरिएको जनाइएको थियो। उनीहरूको मिर्गौलामा असर पर्नुको कारण “कथित रूपमा सेप्टेम्बर र डिसेम्बरबीच भारतमा उत्पादित खोकीको औषधि डोक–१ म्याक्सको कारण भएको“ आरोप लगाइएको छ। बिरामी भएकामध्ये तीन जनाको स्वास्थ्यमा सुधार भइसकेको छ।
औषधि कसरी बन्यो विष ?
मन्त्रालयले “प्रारम्भिक प्रयोगशाला अध्ययनहरूले डोक–१ म्याक्स सिरपको उक्त ब्याचमा इथाइलिन ग्लाइकोल रहेको देखाएको“ उल्लेख गरेको छ । गत अक्टोबरमा विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले विश्वव्यापी सतर्कताको निम्ति ध्यानाकर्षण गराउँदै द गाम्बियामा मिर्गौलामा गम्भीर असरपछि ६६ जना बालबालिकाको मृत्यु हुनुमा भारतमा उत्पादित चारवटा खोकीका औषधिको सम्बन्ध पुष्टि गरेको थियो।
ती सिरपको नमुनामा गरिएको परीक्षणमा धेरै मात्रामा डाईइथाइलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ देखिएको थियो । यद्यपि भारत सरकार र सम्बन्धित कम्पनी मेइडन फार्मस्यूटिकल्स दुवैले डब्ल्यूएचओको आरोपको खण्डन गरेका छन् । भारतले डिसेम्बरको सुरुतिर चारवटा सिरपमा गरिएको परीक्षणले तिनमा मापदण्ड पूरा भएको देखिएको बताएको थियो ।
एक जना सरकारी अधिकारीले डब्ल्यूएचओले सिरपलाई दोष दिने विषयमा “पूर्वाग्रही“ भएको बीबीसीसँग बताएका थिए। तर डब्ल्यूएचओले भने आफू निर्णयमा अडिग रहेको बताएको छ । गत साता द गाम्बियाको संसदीय समितिले केही साता लामो अनुसन्धानपछि मेइडन फार्मस्यूटिकल्सविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। समितिले कम्पनीका सबै उत्पादनलाई देशव्यापी प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । साभार बि बि सी