नारायणगढ – मुग्लीन सडक खण्ड पहिरो खस्दा ठप्प।

नारायणगढ-मुग्लिन सडकमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । 

चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान सवा आठ बजे इच्छाकामना गाउँपालिका–६ मा पहिरो खसेको जनाएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार दुईतर्फी रुपमा नै अवरुद्ध भएको सडक खुलाउने प्रयास सुरु भएको छ । लगातार काम भए दुई घण्टापछि सडक खुल्ने उनले बताए । वर्षायाममा यो सडकखण्डमा लगातार जसो पहिरो जाने गर्दछ ।

संघीय राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य राजमार्गमा दिनहुँ १० हजारको हाराहारीमा गाडी गुड्दथे । कोरोनाका कारण यात्रु बसहरु नचले पनि साना गाडी र मालवाहक ट्रकहरुको ओहोरदोहोर जारी छ ।

यो सडकलाई एसियाली मापदण्डअनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको थियो । त्यही पहाड काटेको ठाउँमा बेला–बेलामा पहिरो गएर सास्ती हुने  गर्दछ।

प्रतिक्रिया