दाङ — प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमै दाङ क्षेत्र नं. ३ मा एक स्वतन्त्र उम्मेदवारमाथि कुटपिट भएको छ।
शान्तिनगर–३ अँधेरे पाते टाकुरा निवासी ३२ वर्षीय सप्रिक कैंडल (स्वतन्त्र उम्मेदवार) माथि साँझ करिब ८:३० बजेतिर घोराहीतर्फ पारिवारिक कामले जाँदै गर्दा बसपार्कस्थित माछापुच्छ्रे गेट नजिक एक समूहले आक्रमण गरेको बताइएको छ।
उक्त घटनामा उम्मेदवारसँगै रहेका दुई जना व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेमध्ये शान्तिनगर–४ का १६ वर्षीय सक्षम थापा (नाबालक) को टाउकोमा गम्भीर चोट लागेको छ। अर्का ३५ वर्षीय खडक थापाको अवस्था पनि गम्भीर रहेको जनाएको छ। दुवै घाइतेको हाल राप्ती प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ।
निर्वाचनको संवेदनशील मौन अवधिमा नाबालकमाथि समेत आक्रमण भएको घटनाले स्थानीयवासीलाई झनै स्तब्ध बनाएको छ। राजनीतिक पूर्वाग्रह वा अन्य कारण के हो भन्नेबारे स्पष्ट खुल्न बाँकी रहेको छ।
घटनापछि प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेकाहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।
मौन अवधिमा भएको यस आक्रमणले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाउँदै स्थानीय तहमा त्रासको वातावरण सिर्जना गरेको छ। प्रहरीले घटनाको गहिरो अनुसन्धान भइरहेको जनाएको छ।
